काठमाडौं– राष्ट्रिय महिला भलिबल टिमको प्रशिक्षण मंगलबार बाट सुरु भएको छ। गत जेठ २१ गतेबाट सुरु हुने भए पनि केही दिनका लागि स्थगित भएको प्रशिक्षण अहिले सुरु भएको हो।
अभ्यासमा २५ खेलाडी सहभागी भएका छन्। नेपाल भलिबल संघ (एनभीए) को गत जेठ १४ गते बसेको बैठकले जेठ २१ बाट ३० खेलाडीका साथ प्रशिक्षण सुरु गर्ने बताए पनि संघले केही दिनका लागि प्रशिक्षण स्थगित भएको बताएको थियो।
खेलाडीले त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा अभ्यास गरिरहेका छन्। प्रशिक्षण अवधिभर खेलाडीसहित आवश्यक प्रशिक्षक र अफिसियल होटलमा रहनेछन्।
राष्ट्रिय टिमको तयारीको लागि समय कम भएको र अब थोरै समय बाँकी रहेकाले समय व्यवस्थापन गरेर अभ्यास गराउनु पर्ने जिम्मेवारी प्रशिक्षक जगदिश भट्टलाई छ। अहिले खेलाडीको फिटनेस पूरा टेस्ट भइरहेको छैन। तर दुई महिनाबाट अभ्यासमा नरहेकाले पहिलेको ४० दिन फिटनेस अभ्यास गर्नेछन्। त्यसपछि प्रशिक्षणको दर बढ्नेछ।
त्यस्तै, नेपाली राष्ट्रिय टिमको अन्तिम नामावली तीन चरणमा पूरा गरिने छ। पहिलो समय २० दिनको र दोस्रो चरणमा ३० दिन गरेर खेलाडी छनोट हुनेछन्।
यता विभागीय ट्रेनिङमा रहेका तीन खेलाडीलाई संघले विभागसँग समन्वय गरेर प्रशिक्षणका बोलाए पनि उनीहरु प्रशिक्षणमा आउने सम्भावना भने कम छ। संघले बोलाएको ३० खेलाडीमध्ये अहिले २५ खेलाडी प्रशिक्षणका लागि आइपुगेका छन्। ‘तीन खेलाडी विभागीय तालिममा रहेछन्। त्यस्तै अरू दुई खेलाडी पनि आउने क्रममा छन्,’ संघका सचिव मनवीर छन्त्यालले भने।
संघले गत चैतमा सम्पन्न एनभीए क्लब भलिबल लिगबाट ३० खेलाडी छनोट गरेर प्रशिक्षणमा सहभागी गराउने निर्णय गरेको थियो। साथै जेठ १४ गते बसेको संघको बैठकले जगदिश भट्टलाई टिम सम्हाल्ने जिम्मेवारी दिने बताएको थियो।
प्रशिक्षणका लागि संघ उपाध्यक्ष निरोज मास्के, प्रशिक्षक भट्ट र प्रज्वलबहादुर सिंहको छनोट समितिले खेलाडी छनोट गरेको थियो। साथै ट्रेनरको जिम्मेवारी अन्जु श्रेष्ठले पाएकी छन्।
आगामी भदौ १३ देखि २० गतेसम्म फिलिपिन्समा आयोजना हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपका लागि नेपाली टिमको बन्द प्रशिक्षण सुरु हुन लागेको हो।





