काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले विपत्तिबाट प्रभावित नागरिकको तत्काल उद्धार र राहतमा जुट्न आग्रह गरेका छन्।
सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा मंगलबार साँझदेखि लगातार आइरहेको भीषण बाढीका कारण तटीय क्षेत्रमा भएको अपुरणीय मानवीय र भौतिक क्षतिको खबरले आफू स्तब्ध भएको भन्दै सभामुखले प्रभावित नागरिकको तत्काल उद्धार एवं राहतमा जुट्न सबैमा अपिल गरेका हुन्।
अविरल वर्षासँगै मेलम्ची र ईन्द्रावती नदीमा भीषण बाढी आएको छ। एक जनाको शव फेला परेकाे छ भने सात जना बेपत्ता छन्।
बाढीले मेलम्ची खानेपानीको ड्यामसमेत क्षति गरेको छ। तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, याङ्री क्षतविक्षत बनाएको छ। नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल पनि बगाएको बताइएको छ।