जनकपुरधाम– नेकपा एमाले र माओवादी केन्द्रले प्रदेश २ को प्रदेशसभा बैठक अवरुद्ध गरेका छन्। बजेट वक्तव्यपछि स्थगित प्रदेशसभा बैठक पुनः बसेलगत्तै निर्वाचन क्षेत्रको रकम बढाउनुपर्ने भन्दै दुई दलले अवरुद्ध गरेका हुन्।
नेकपा एमोलेका सांसद सुन्दरबहादुर विश्वकर्माले बजेट र नीति तथा कार्यक्रम ल्याउनुभन्दा पहिले पनि आफूहरुले निर्वाचन क्षेत्रको बजेट सम्बन्धमा मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराए पनि बेवास्ता गरेको आरोप लगाए।
विश्वकर्माले प्रदेशको समानुपातिक विकास हुनुमा निर्वाचन क्षेत्र कार्यक्रमकै योगदान रहेको भन्दै यसको बजेट बढाउन ध्यानाकर्षण गराएका छन्। उनले दुई आर्थिक वर्षमा निर्वाचन क्षेत्रको बजेट एउटै दरमा रहेको भन्दै आपत्ति जनाए। विश्वकर्माले सबै क्षेत्रको विकास तथा फ्रिज भइरहेको रकम खर्च गर्न समानुपातिक सांसदको २ करोड ५० लाख र प्रत्यक्षबाट निर्वाचित सांसदको ५ करोड बजेट विनियोजन गर्न ध्यानाकर्षण गराएका छन्।
उनको प्रस्तावलाई माओवादी केन्द्रका सांसद दिलीप साहले समर्थन जनाएका छन्। निर्वाचन क्षेत्रको बजेट बढाउनुपर्ने माग गर्दै विरोध गरेपछि प्रदेशसभा बैठक सभामुख सरोज यादवले १० मिनेटका लागि स्थगित गरेका छन्।