काठमाडौं– ठूलो संख्यामा दर्शकको उपस्थितिबीच आज आयोजित पोर्चुगल र हंगेरीबीचको खेल निकै उत्साहजनक हुने पक्का छ। यहाँ कम्प्युटरबाट कसैको निगरानी गरिने छैन, होलोग्राम हुने छैन र टेलिभिजनमा आर्टिफिसियल ध्वनि राख्नुपर्ने आवश्यकता छैन।
खेलको असीम सुन्दरताबीच हंगेरीले ६१ हजार दर्शक क्षमताको पुस्कर एरिना रंगशालामा आज पाहुना टिम पोर्चुगलसँग खेल्दैछ। जहाँ कप्तान क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगलले उपाधि रक्षाको यात्रा थालनी गर्नेछ।
हंगेरीको फुटबल एसोसिएसनले आफ्नो रंगशालामा पूरा टिकट बेच्ने निर्णय गरेसँगै उसको रंगशालाभरि दर्शक उपस्थित हुनेछन्।
यो सबै हंगेरीको महत्वाकांक्षी भ्याक्सिनेसन कार्यक्रमले सम्भव भएको हो। किनभने ९.८ मिलियन जनता भएको देशमा लगभग ५.३ मिलियनले कोभिडविरुद्धको भ्याक्सिन लिइसकेका छन्। हंगेरीले रसिया र चीनबाट कोभिडविरुद्धको भ्याक्सिन लिएर आफ्ना जनतालाई लगाएको हो।
कोभिड इम्युनिटी कार्ड पाएकाहरुले इन्डोर मिटिङ गर्न, होटेल रोस्टुरेन्टमा खान कुनै छेकबार लगाइएको छैन। त्यसैले उसले ठूलो संख्यामा समर्थकबीच बलियो समूहमा पोर्चुगलपछि फ्रान्सलाई आतिथ्यता प्रदान गर्न सक्ने भएको हो।
कोरोना भाइरसको महामारीका कारण हंगेरीमा पछिल्लो २४ घण्टामा ५७ जनालाई संक्रमण देखिएको छ भने १० जनाको मृत्यु भएको छ। साथै, सकृय संक्रमितको संख्या ४५ हजार भन्दा धेरै छ।