पोखरा– मंगलबार बिहानैदेखि परिरहेको अविरल वर्षाले गण्डकी प्रदेशका सबैजसो जिल्लामा वितण्डा मच्चाएको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार वर्षाका कारण आएको बाढीले मनाङ, मुस्ताङ, कास्की, बागलुङ, पर्वतलगायत जिल्लामा त्रास पैदा गराएको छ।
प्रहरीका अनुसार मर्स्याङ्दी नदीमा आएको बाढीले मनाङको ताल गाउँका ६ वटा घरमा क्षति पुगेको छ। प्रमुुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछानेले सदरमुकाम चामेबजारमा पनि बाढीले क्षति पुग्न सक्ने बताएका छन्। यस्तै मनाङ प्रवेश गर्ने बेलिब्रिज र विद्युत गृहमा पनि क्षति पुगेको छ। विद्युत गृहमा क्षति पुग्दा मनाङ सञ्चार सम्पर्कबाट विच्छेद हुने सम्भावना रहेको उनले बताए।
यसैगरी वर्षाका कारण विश्वकै ठूलो शालिग्राम शिला र शिला क्षेत्रमा रहेको बजार डुबानमा परेको छ। पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा पर्ने पर्वतको विहादी गाउँपालिका—६ सेतीवेणीमा रहेको शिला र स्याङ्जातर्फको बजार डुबानमा परेको हो।
कालीगण्डकीमा पानीको सतह २८ वर्षयताकै उच्च विन्दुमा पुगेपछि शिला र बजार पूर्ण रुपमा डुबानमा परेको स्थानीयवासी तिलक पराजुलीले जानकारी दिए। उनका अनुसार आज बिहान ४ बजेदेखि बजार क्षेत्र डुबानमा पर्न थालेपछि १० घर विस्थापित बनेका छन्। ती १० घरमा रहेका सामान र मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
पर्वतकै जलजला गाउँपालिका ३ वारी बेनीमा बाढीले अमृत केसीको घर पूर्ण रुपमा क्षति भएको छ। उता नवलपरासी पूर्व बिनयीत्रिबेणी गाउँपालिका २ दाउन्ने बिश्वकर्मा मन्दिर नजिकै माथिबाट पहिरो खस्न जाँदा पूर्व पश्चिम राजमार्ग दुबै तर्फबाट अवरुद्ध भएको छ।
त्यस्तै गैंडाकोट नगरपालिका ८ थुम्सी स्थित पूर्वपश्चिम राजमार्गमा पुल निर्माणको लागि बनाइएको डाइभर्सनमा अविरल वर्षातको कारण खोल्साखोल्सीबाट आएको पानी भरिन गई उक्त डाइभर्सन जोखिम भएकोले राजमार्ग दुईतर्फ नै बन्द भएको, उक्त स्थानहरुमा प्रहरी टोली खटी राजमार्ग एकतर्फी सञ्चालन गराएको छ।
यसैगरी पोखराका केही स्थानमा पनि वर्षाका कारण जमिन भासिएको छ भने केही स्थानहरुमा पानी जमेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। अन्नपूर्ण गाउँपालिकाको हाईजुङमा बाँसघारी पल्टिएर विद्युतको हाईटेन्सन तार चुँडिदा घान्द्रुक, लान्द्रुकलगायत गाउँहरुमा विद्युत विच्छेद भएको छ भने नयाँपुल, घान्द्रुक सडक मार्ग पनि अवरुद्ध भएको छ। यसैगरी मोदीखोलामा उर्लिएको बाढीका कारण विरेठाँटीमा ६ घर उच्च जोखिममा परेका छन्। ती घरहरुमा बस्नेहरुलाई उद्धार गरिएको प्रहरीले जनाएको छ।
वागलुङको कोठेखोला गाउँपालिकामा पनि सडक खन्दा जम्मा भएको माटो लेदोमा परिणत भएर बग्दा ६ घर जोखिममा रहेको गाउँपालिका अध्यक्ष अमर थापाले जानकारी दिएका छन्।
गोखाको आरुघाट गाउँपालिका २ स्थित ठोट्नेरी खोलाले बगाउँदा बर्दियाका ३८ वर्षीय गोबिन्द चौधरी वेपत्ता भएका छन्।
बाढीले प्रदेशैभरि वितण्डा मच्चाउन थाले पनि मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले तत्काल उद्धार र राहतमा खट्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएका छन्। मुख्यमन्त्री भएपछि उनले पहिलो निर्णयमै प्राकृतिक प्रकोप नियन्त्रणका लागि विज्ञसहितको प्रतिकार्य टोली परिचालन गर्ने योजना सार्वजनिक गरेका थिए।