काठमाडौं– कोभिडको भ्याक्सिन पाउनुपर्ने भन्दै आन्दोलनमा उत्रेका पेट्रोलियम ढुवानीकर्ताले भ्याक्सिन पाउने भएका छन्। नेपाल आयल निगमको समन्वयमा ढुवानीकर्ताले भ्याक्सिन पाउने भएका हुन्।
निगमका प्रवक्ता विनितमणि उपाध्यायले ढुवानीकर्ता चालक र सहचालकलाई भ्याक्सिन उपलब्ध गराउने सहमति भएको जानकारी दिए। चालक संघका प्रतिनिधिसँग भएको छलफलपछि निगमबाट जारी भएको परिपचयपत्रको आधारमा खोप उपलब्ध गराउने समहति भएको प्रवक्ता उपाध्यायले जानकारी दिए।
यसअघि पेट्रोलियम ढुवानीकर्ता चालक तथा सहचालकले कोरोनाको भ्याक्सिन पाउनुपर्ने भन्दै काठमाडौं उपत्यकामा पेट्रोलियम पदार्थ आपूर्ति बन्द गरेका थिए। मंगलबार भएको सहमतिसँगै आपूर्ति प्रणाली पुनः सुचारु हुने भएको निगमको भनाइ छ।
यसअघि सरकारको खोप कार्यक्रमअनुसार प्रादेशिक कार्यलय विराटनगर, लुम्बिनी, भलवारी, भैरहवा इन्धन डिपो, नेपालगन्जलगायतका शाखाहरु मातहतका चालक तथा सहचालकलाई खोप लगाउने कार्य सम्पन्न भइसकेको निगमले जानकारी दिएको छ।
मंगलबार सम्बन्धित निकायका अधिकारीहरुसँगको छलफलपछि एलपी ग्यास लगायतका अन्य निगम सम्बन्ध व्यवसायीलाई पनि क्रमशः खोप उपलब्ध गराइने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।