काठमाडौं- २३ वर्षीया वर्षा विश्वकर्माको जिन्दगी ठिकठाकै चल्दै थियो। पति रमेश भारत मध्य प्रदेशस्थित जवलपुरको एउटा कफी हाउसमा काम गर्थे। वर्षा चार वर्षीया छोरी च्यापेर उतै गएकी थिइन्। मासिक ४० देखि ५० हजार नेपाली रुपैयाँ कमाइ हुन्थ्यो।
आर्थिक रुपमा धेरै सबल नभए पनि खुसीको खासै कमी थिएन। दाङको घोराही उपमहानगरपालिका–४ लक्ष्मीपुरकी वर्षाको जीवनमा पति अकस्मात् बिरामी भएपछि भने वज्रपात आइलाग्यो। २०७७ पुसमा घर आएका दम्पती छुट्टी मनाएर १–२ महिनापछि पुनः काममा फर्किने योजनामा थिए। तर, रमेश अत्यधिक टाउको दुख्ने समस्याबाट ग्रसित भए। उनी माघ अन्तिमतिर ज्वरो आएर ढले। त्यसपछि नेपालगन्ज मेडिकल कलेजमा लगिन् वर्षाले।
अस्पतालमा २०–२२ दिन उपचार गर्दा पनि रोग पत्ता लागेन। वर्षा भन्छिन्, ‘कहिले के परीक्षण गर्न लगाए, कहिले के औषधि खुवाए। तर न रोग पत्ता लाग्यो न व्यथा कम भयो।’ रमेशको अवस्था जटिल बन्दै गयो। दुई लाख रुपैयाँ सकेपछि अस्पतालकै सिफारिसमा वर्षासहित परिवारले रमेशलाई काठमाडौं लिएर आए।
उपचारमा संलग्न चिकित्सकका अनुसार रमेशलाई टीभी मेनेन्जाइटिस भएको छ। मेडिसिटी अस्पतालका न्युरोसर्जन डा. प्रकाश पौडेलले भने, ‘यो टीभीका कारण मस्तिष्कमा हुने गम्भीर प्रकारको संक्रमण हो। यसलाई टीभी मेनेन्जाइटिस भनिन्छ।’
काठमाडौंको कुन अस्पतालमा लाने, कहाँ उपचार गर्ने त्यसको कुनै योजना थिएन। ‘भैंसेपाटीकाे मेडिसिटी अस्पतालमा राम्रो उपचार हुन्छ भन्ने सुनेकी थिएँ। त्यसैले त्यहीँ लगेर उपचार गरौं भन्ने लाग्यो,’ वर्षाले भनिन्। त्यसपछि रमेशलाई परिवार र उनकी पत्नी वर्षाले गत चैत २ गते मेडिसिटी अस्पतालमा ल्याए।
रमेशको स्थिति जटिल थियो। मेडिसिटीमा रमेशलाई लागेको रोग पत्ता लाग्यो, उनलाई मेनेन्जाइटिस भएको रहेछ। ‘अब चाँडै निको होला भन्ने लागेको थियो तर अवस्था उस्तै छ। तीन महिनाको बीचमा उहाँले आँखा खोल्नुभएको छ। तर, होस आएको छैन। आफ्नै सुरमा हेर्नुहुन्छ,’ वर्षा भक्कानिइन्।
उपचारमा संलग्न चिकित्सकका अनुसार रमेशलाई टीभी मेनेन्जाइटिस भएको छ। मेडिसिटी अस्पतालका न्युरोसर्जन डा. प्रकाश पौडेलले भने, ‘यो टीभीका कारण मस्तिष्कमा हुने गम्भीर प्रकारको संक्रमण हो। यसलाई टीभी मेनेन्जाइटिस भनिन्छ।’ रमेशको मस्तिष्कको नशा सुकेकाले आँखा खोले पनि बाहिरी वातावरणमा घुलमिल हुन नसकेको उनको भनाइ छ।
डाक्टर पौडेलका अनुसार टीभी मेनेन्जाइटिस भएकामध्ये २० देखि ३० प्रतिशतको ज्यान जाने गरेको पाइएको छ। उनी भन्छन्, ‘रमेश तत्काललाई मृत्युबाट बाँचे। तर, बाहिरी वातावरणमा घुलमिल हुन सकिरहेका छैनन्। उनका मस्तिष्कका सुकेका नशाहरुले काम गर्न सकेको छैन।’
पैसा तिर्न नसक्ने अवस्थामा आफू रहेको बताएकी वर्षालाई मेडिसिटी अस्पतालले कागज गर्न भनेको रहेछ तिम्रो जायजेथाबाट असुल उपर गर्नेछौं भनेर। भोलिका दिनमा कानुनी लडाइँ लड्दा कुनै दाबी गर्न पाउनेछैनौ भनेर हस्ताक्षर गर्न पत्र पठाएको रहेछ।
रमेशको परिवारका अनुसार उपचारमा अहिलेसम्म अहिलेसम्म ३० लाख खर्च भइसकेको छ। तर बिरामीको अवस्थामा ३० प्रतिशत पनि सुधार भएको छैन। ‘अब खर्च गर्न पैसा पनि छैन। कहाँबाट ल्याएर उहाँलाई बचाऔं?’ वर्षाले भनिन्।
ऋण काडेर र सहयोग मागेर मेडिसिटीमा १७ लाख र नेपालगन्जमा २ लाख खर्च गरिसकेका छन् उनीहरुले। मेडिसिटीलाई साढे ११ लाख रुपैयाँ तिर्न बाँकी छ। वर्षाका अनुसार रमेशको उपचारमा दैनिक ३० हजारभन्दा धेरै खर्च हुँदै आएको छ। ओषधिमा मात्रै हरेक दिन २० हजार खर्च हुन्छ। ‘अब त औषधि किन्ने पनि पैसा छैन। पैसा तिर्न नसकेपछि अस्पतालले औषधि दिन बन्द गरेको छ,’ उनले भनिन्।
पैसा तिर्न नसकेपछि वर्षालाई अस्पतालले बिरामी लैजान दबाब दिइरहेको छ। तर, वर्षा न पतिलाई यही हालतमा घर लान सकिराखेकी छिन्, न त अस्पताललाई तिर्नुपर्ने साढे ११ लाख नै तिर्न सकेकी छिन्।
पैसा तिर्न नसक्ने अवस्थामा आफू रहेको बताएकी वर्षालाई मेडिसिटी अस्पतालले कागज गर्न भनेको रहेछ। तिम्रो जायजेथाबाट असुल उपर गर्नेछौं भनेर। साथै भोलिका दिनमा कानुनी लडाइँ लड्दा कुनै दाबी गर्न पाउनेछैनौ भनेर हस्ताक्षर गर्न पत्र पठाएको रहेछ। ‘सम्पत्तिका नाममा मसँग केही नै छैन तैपनि अस्पताल यस्तै गरिबलाई निचोर्न खोजिराखेको छ,’ उनले तिक्तता पाेखिन्।
बेच्ने सबै कुरा सकिएको र ऋण लिने ठाउँ पनि सकिएको उनले सुनाइन्। ‘अब कसरी तिरुँ ११ लाख रुपैयाँ?’ उनले आँखा टिलपिल पार्दै भनिन्। उनी यतिखेर कसरी हुन्छ अस्पतालमा बन्धकजस्तै भएका पतिलाई निकाल्न पाए हुन्थ्यो भनेर लागिपरेकी छन्। अस्पतालको पैसा तिर्नका लागि दौडधुप गरिरहेकी छिन्। सहयोगी मनहरुसँग याचना गरिरहेकी छिन्।
डा. पौडेल लामो समय यसै गरी राखिरहनुपर्ने भएकाले घर लैजान सिफारिस गरेको बताउँछन्। भन्छन्, ‘बिरामीको अवस्था, परिवारको आर्थिक स्थितिका कारण हामीले घर लैजान सक्नुहुन्छ भनेका छौं।’

तर वर्षाले ११ लाख तिर्न सकेकी छैनन्। ‘यही राखौं, थप खर्च बढ्छ, घर लगौं अस्पतालले पैसा नतिरी निकाल्न दिँदैन। अब कसो गर्ने? मसँग केही उपाय छैन,’ उनले भनिन्। रमेशको उपचारका लागि भएको जग्गा समेत बेचिसकेको रहेछ उनको परिवारले। अब आफू बसिराखेको ऐलानी जग्गा छ। त्यो कसैले किन्दैन, पैसा आउने अरु बाटो पनि छैन।
दुई वर्षअघि खुट्टा भाँच्चिएका कारण वर्षा आफैं राम्रोसँग हिँडडुल गर्न सक्दिनन्। दाहिने खुट्टामा अहिले पनि रड छ। तर पनि पतिको स्याहारमा भोकनिद्रा नभनी दिनरात खटिरहेकी छिन्।
अस्पतालको दबाबबाट विरक्तिएकी वर्षा भन्छिन्, ‘यो देशमा गरिबलाई बिरामी हुने पनि छुट रहेनछ। हुन्थ्यो भने यसरी उपचार गराउन नसकेकै कारण मेरा पतिलाई घर फर्काउनुपर्ने बाध्यता हुने थिएन। मेरा पति अस्पतालमा बन्धकजस्तै भएर बस्नुपर्ने थिएन।'