काठमाडौं- साविक युरो कप विजेता पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोकै शब्दमा यो वर्ष पनि उत्तिकै उत्साहका साथ पोर्चुगलले युरोकप खेल्न लागिरहेको छ।
उनले सोमबार राति सामाजिक सञ्जाल फेसबुकमा पोर्चुगलका फुटबल समर्थकका नाममा सम्बोधन गर्दै उनले जितको भोक अझै बढेको स्टाटसमार्फत् जानकारी दिएका हुन्।
उनले लेखेका छन्, ‘पाँच वर्षअघि हामीले युरोपलाई अचम्मित बनाएका थियौँ। हामीले पहिलो पटक पोर्चुगलका लागि अन्तर्राष्ट्रिय मुख्य उपाधि जितेका थियौँ।’
पहिलो पटक नेसन्स कप जित्नुअघि पोर्चुगलले सन् २०१६ को युरोकप जितेको थियो। पाँच वर्षअघिको जुलाई १६ मा पोर्चुगलले फ्रान्सको राष्ट्रिय टिमको रंगशालामा घरेलु टिमलाई अतिरिक्त समयमा गोल गरेर उपाधि जितेको थियो।
७५ हजारभन्दा धेरै समर्थकमाझ पोर्चुगलले निर्धारित ९० मिनेट गोलरहित बराबरी खेलेपछि अतिरिक्त समयमा गोल गर्दै उपाधि जित्यो।
‘हाम्रो समूहको असामान्य खेलाडीहरूले देशको गौरवमय इतिहासमा आफ्नो नाम सुनका अक्षरले लेख्न सफल भएका थिए,’ उनले फेसबुकमा लेखेका छन्, ‘अहिले ती खेलाडीमध्ये ११ जना मात्र अहिलेको टिममा छौं। तर, मलाई थाहा छ जो शारीरिक रुपमा टिममा छैनन् उनीहरू हामी सबैसँग बाँडिएका छन्।’
उनी अगाडि लेख्छन्, ‘उनीहरू मात्र होइन विश्वभरिका पोर्चुगिज हामीभित्र छन्।’
अहिले त्यही स्पिरिटका साथ मैदानमा उत्रने पोर्चुगलले आज राति पौने १० बजेको पहिलो खेलस्वरुप हंगेरीविरुद्ध खेल्दै छ। युरोकपको समूह एफ अर्थात् सबैभन्दा पेचिलो समूहमा रहेको पोर्चुगललाई यो सिजनमा जित निकाल्न खेलाडीसँगै समर्थकको पनि उत्तिकै आवश्यकता पर्ने हुन्छ। खेलाडीको हौसला बढाउन समर्थकको विश्वास उत्तिकै हुन्छ।
किनभने पोर्चुगलकै टिममा छन् पछिल्ला दुई विश्वकपका विजेता जर्मनी र फ्रान्स। यसकारण कप्तान रोनाल्डो समर्थकलाई भावना व्यक्त गर्छन्, ‘हामीलाई थाहा छ कि तपाईंहरू हाम्रो टिमसँग हुनुहुन्छ। हामी तपाईंहरूको सहयोग, मैदानमा गुञ्जयमान र विश्वासको अनुभूति गरिरहेका छौं। हामी मैदान प्रवेश गर्नु, राष्ट्र गीत गाउनु, अंक र जितका लागि प्रस्पिर्धिसँग भिड्नु र बल बाँडेर खेल्नु पनि तपाईंहरूका लागि नै हो।’
उनी डिफेन्डिङ च्याम्पियन रहेसँगै प्रतियोगितामा उत्तरदायित्व पनि बढेको जनाउँछन्। उनले अन्तिममा लेखेका छन्, ‘उत्तरदायित्वसँगै बढेको छ हाम्रो इच्छा, लगाब र निस्वार्थता पनि। अब हामी सबैथोक छोडेर हामी पोर्चुगलको नाम उँचो बनाउन लागौँ।’