एजेन्सी- जर्मनीका डिफेन्डर एन्टोनियो रुडिगरले फ्रान्सविरुद्ध राम्रो फुटबल खेल्ने प्रयास नगर्ने बताएका छन्। फ्रान्सका फवार्डविरुद्ध जर्मनीका डिफेन्डरले थोरै ‘डर्टी फुटबल’ खेल्ने उनले बताएका छन्।
युरोकपमा जर्मनीले विश्व विजेता फ्रान्स, युरोकपको साविक विजेता पोर्चुगल र हंगेरीविरुद्ध खेल्नेछ। यो समूहलाई ग्रुप अफ डेथकारुपमा लिइएको छ।
फ्रान्सको आक्रमण लाइन निकै तगडा छ। केलियन एम्बाप्पे, करीम बेन्जेमा, एन्टोनी ग्रिजम्यान र रुडिगरसँगै चेल्सीमा खेल्ने ओलिभियर जिरुडले फ्रान्सको आक्रमण सम्हाल्नेछन्।
‘फ्रान्ससँग राम्रा फर्वाड छन्। हामीले खेल जित्ने चुनौती लिनुपर्छ। हामीले थोरै ‘डर्टी’ खेल्नुपर्छ,’ उनले भनेका छन्, ‘सँधै राम्रो खेल्नुपर्छ भन्ने हुँदैन। फ्रान्ससँग हामीले सुन्दर फुटबल खेल्ने कोसिस गर्नुहुँदैन, थोरै डर्टी हुनैपर्छ।’
जर्मनीविरुद्धको खेलअघिको पत्रकार सम्मेलनमा रुडिगरको टिप्पणीका बारेमा एम्बाप्पेलाई प्रश्न गरिएको थियो। तर, एमबाप्पले फ्रान्सले आफ्नै शैलीको फुटबल खेल्ने बताएका छन्। ‘हामीले आफ्नो तयारीमा ध्यान केन्द्रित गर्छौं।
उनीहरुको तागत र कमजोरीलाई राम्रोसँग विश्लेषण गर्छौं। यो प्रतियोगितामा सुखद् सुरुवात गर्ने कोसिस गर्नेछौं,’ एमबाप्पेले भनेका छन्।