सात महिनाअघिको एउटा खेलमा स्पेनसँग जर्मनी ६–० ले पराजित भयो। तर, एक साताअघि उसले लाटभियालाई ७–१ गोलले पराजित गर्यो।
यद्यपि, यी दुई नतिजा तुलना गर्न योग्य भने होइनन्। विश्वविजेता बनिसकेको र विश्व वरीयतामा छैटौं स्थानमा रहेको स्पेनसँगको त्यो फराकिलो हार र १३८ औं स्थानमा रहेको लाटभियाविरुद्धको फराकिलो जितको तुलना गर्नु आफैंमा न्यायोचित नहोला।
तर जे होस्, टिमको आत्मविश्वास फर्काउन सानै टिमसँगको फराकिलो जितले पनि पक्कै काम गर्नेछ। बिहीबार जर्मनीले युरोकप २०२० को पहिलो खेल खेल्दैछ। विश्वकप र कन्फेडरेसन कप जिताइसकेका प्रशिक्षक जोचिम लोको नेतृत्वमा युरोकपको ट्रफी उचाल्ने दाउमा जर्मनी हुनेछ। युरोकपको पहिलो खेल जर्मनीले साविकको विश्वविजेता फ्रान्ससँग खेल्नेछ। धेरैले जर्मनीलाई यसपटक कम आँकेका छन् तर ‘डार्क हर्स’ बनेर उसले युरोकप २०२० को बाजी मार्न सक्छ।
प्रशिक्षक लो राष्ट्रिय टोलीलाई १५ वर्ष नेतृत्व गरेर बिदा हुने तरखरमा छन्। उनलाई हान्सी फ्लिकले प्रतिस्थापन गर्दैछन्। लाटभियाविरुद्धको खेलपछि उनले टोली कठिन अवस्थाबाट तंग्रिने प्रयत्न गरिरहेको बताएका थिए जुन युरोकप तयारीका लागि सकारात्मक संकेत भएको उनको भनाइ थियो। ‘पछिल्ला केही महिना हाम्रा लागि कठिन थिए। तर, आज हाम्रो आक्रमण र रक्षा पंक्ति निकै स्थिर रह्यो,’ खेलपछि उनले भनेका थिए।
लोले सन् २००६ मा जर्मनीको राष्ट्रिय टोली सम्हालेका थिए। उनले सधैं टिममा पूर्णताको माग गरिरहे। उनी नेतृत्वको टोली सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा उच्च लयमा देखियो। जहाँ जर्मनीले चौथो पटक विश्वकपको उपाधि उचाल्यो। तर, लो नेतृत्वको जर्मनी सन् २०१८ मा रुसमा भएको विश्वकपमा निरीह देखियो। जहाँ दक्षिण कोरियासँग हार्दै जर्मनी समूह चरणबाटै घर फर्किन परेको थियो। लो नेतृत्वको जर्मनी कुनै पनि ठूला प्रतियोगितामा समूह चरणबाट घर फर्किएको त्यो नै पहिलो पटक थियो।
त्यसअघि उनी नेतृत्वको टिम कम्तीमा सेमिफाइनल पुग्ने गरेको थियो। सन् २००६ को विश्वकपमा तेस्रो, सन् २०१० को विश्वकपमा तेस्रो र २०१४ को विश्वकप जर्मनीले जितेको थियो। युरोकप तर्फ हेर्ने हो भने सन् २००८ मा उपविजेता बनेको जर्मनी सन् १०१२ र २०१६ मा सेमिफाइनलमा पुगेको थियो। अन्तर्राष्ट्रिय प्रतियोगितामा निरन्तर प्रभावशाली रहेको लो नेतृत्वको जर्मनी एक समयमा तासको पत्ताको घर ढले जस्तै बन्न पुगेको थियो।
तर, समय खराब मात्रै थिएन। युरोकप छनोटमा एक खेलमात्रै हारेको जर्मनी शीर्ष स्थानमा रहँदै छनोट भएको थियो। नेशन्स लिगमा समेत राम्रो गर्ने अवसर जर्मनीलाई थियो। तर, त्यो अवसर भने सदुपयोग गर्न सकेन। स्पेन विरुद्धको खेलमा शीर्ष स्थानमा रहने मौका जर्मनीका सामु थियो। तर, फरान टोरेसको ह्याट्रिकसँगै रोड्री र अल्भरो मोराटाको गोलले जर्मनीलाई निराश बनाइदियो।
स्पेनसँग ६–० को हार ९० बर्ष यता जर्मनीले भोगेको सबैभन्दा ठूलो हार थियो। मिडियाले जर्मन टोलीको व्यापक आलोचना समेत गरे।तर, आलोचनाकै बीचमा लोले टोलीलाई सुधार गर्ने प्रयत्न भने जारी राखे।
स्पेनसँगको खेलपछि जर्मनीले आइसल्यान्डलाई ३–० ले हरायो। रोमानिया विरुद्ध १–० को जितपछि लो घाउमा मल्हम लगाउने प्रयासमा थिए। तर, उत्तरी मेसेडोनियाले घरेलु मैदानमै जर्मनीलाई २–१ ले हराइदियो। त्यसपछि जर्मनीले डेनमार्कसँग १–१ को निराशाजनक बराबरी खेल्यो। तर, लाटभियासँगको खेलमा भने जर्मनीले लयमा फर्किएको संकेत दियो। सात गोल, सात फरक स्कोरर (लयमा नरहेका टिमो वार्नर सहित)।
यसअघिका खेलमा देखिएको लय हेर्दा जर्मनी युरोकपमा सट्टेबाजहरुका लागि अनुकूल टोली होइन। तर, खेलाडीहरुलाई हेर्ने हो भने आशा गर्ने ठाउँ भने छ। गुन्डोगान म्यानचेस्टर सिटीबाट च्याम्पियन्स लिग फाइनल हारे पनि दुई मुख्य ट्रफी जितेका खेलाडी हुन्। म्यानुअल नुअेर, जोश किमिच, गनाब्री, साने, मुलरले बुन्डेसलिगा जितेका छन् भने टोनी क्रुस रियल मड्रिडमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी हुन्।
ग्रुप अफ डेथमा रहेको जर्मनीले समूह चरणमा फ्रान्स, पोर्चुगल र हंगेरी विरुद्ध खेल्नेछ। साविक विश्वविजेता फ्रान्स विरुद्धको खेलमा जर्मनीको असली परीक्षा हुनेछ, जहाँ स्पेनसँग ६–० को हारपछि उसले के सिक्यो भन्ने देख्न सकिनेछ।
जर्मनीले इंग्ल्यान्डको झैं युरोकपको समूह चरणको पहिलो खेल घरेलु मैदानमा खेल्नेछ। यसले बलियो टोली विरुद्ध खेल्न उसलाई केही सहज हुनेछ। भलै जर्मनीले समूह चरणमा खराब प्रदर्शन गरोस्, तर ऊसँग नकआउट चरणमा पुग्न एउटा मौका हुनेछ। किनकी तेस्रो स्थानमा रहेका चार टोली अन्तिम १६ मा पुग्नेछन्।
यो प्रतियोगितापछि जर्मन टोली फ्लिकले सम्हाल्नेछन्। फ्लिक र खेलाडीको एउटै लक्ष्य हुनेछ– ट्रफी जित्नु। तर, त्यो भन्दा लोका लागि अहिले अर्को अवसर हुनेछ, त्यो हो– सफलताको उच्च विन्दुबाट दर्दनाक असफलताबाट गुज्रिएर विदा हुनुअघि युरोकप ट्रफी जित्नु।
(डेली मेलको मेल अनलाइनमा प्रकाशित विश्लेषणको भावानुवाद)