पोखरा- संसद्मा बहुमत जुटाए पनि सडक संघर्षका माध्यमबाट शनिबार अबेर नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपाली मुख्यमन्त्री नियुक्त भए। नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसद दीपक मनाङेकोे समर्थनमा मुख्यमन्त्री बनेपछि उनले कस्तो मन्त्रीमण्डल बनाउलान् भन्ने चासो सर्वत्र भयो।
राष्ट्रिय जनमोर्चा सरकारमा नजाने घोषणा गरेरै बसेको थियो। स्वतन्त्र सांसद दीपक मनाङेले स्वतः मन्त्रीमण्डलमा स्थान पाउने नै भए। जनता समाजवादी पार्टीबाट संसदीय दलका नेता हरिशरण आचार्य जाने निर्विरोध भएको थियो। सबैको चासोको विषय थियो– नेकपा माओवादी केन्द्रले कसकसलाई मन्त्रीमण्डलमा पठाउँछ भन्ने।
सबैको आ–आफ्नो विश्लेषण थियो। संसदीय दलको नेता भएकाले हरिबहादुर चुमानले नै सरकारमा नेतृत्व गर्छन् भन्ने र अर्को युवा र प्रष्टवक्ता भएका कारण दीपक कोइरालाको नेतृत्वमा सरकारमा जाने भन्ने। कोइराला भने संसदको अर्थ तथा विकास समितिको सभापति भएका कारण सरकारमा जाँदैनन् भन्ने अर्को अनुमान पनि थियो।
आम अनुमानहरुलाई गलत सावित गर्दै नेकपा माओवादी केन्द्रले लमजुङकी सांसद मधुमाया अधिकारी गुरुङलाई प्रदेश सरकारमा पठायो।
त्यसो त माओवादीमा मन्त्रालय चलाउन सक्ने अन्य सांसदहरु पनि थिए। मधुमायाको सत्तारोहणसँगै माओवादीले आम जनमानसमा दुईवटा सन्देश पनि छोड्यो। पहिलो, महिला सहभागिताका सवालमा माओवादी उदार छ भन्ने र अर्को, उसले भन्दै आएको सहिद परिवारका लागि पार्टी अझै पनि जिउँदै छ भन्ने।
नेपाली नेतृत्वको सरकारमा जाँदै गर्दा उनका बारे अन्य पार्टीका मन्त्रीजस्तै सामान्य आमचासो बन्यो। तर राजनीतिमा उनले गरेको संघर्ष पोखरामा बस्नेहरुले सायदै थाहा पाएका छन्।
राजनीतिमा लागेर उनले आफ्ना श्रीमान् गुमाइन्। दूधे छोरीलाई खोकिलामा बोकेर ‘क्रान्तिको कार्यभार’ भन्दै पार्टी जीवनमा निरन्तर लागिरहिन्। राजनीतिमा उनले गरेको संघर्षको एउटा महाकाव्य नै तयार हुुने उनीसँगै राजनीतिमा लागेका माओवादी कार्यकर्ताहरु बताउँछन्।
लमजुङको दूधपोखरी गाउँपालिका–२ विचौरमा जन्मिएकी मधु अधिकारी २०५१ सालदेखि तत्कालीन नेकपा माओवादीको पार्टी राजनीतिमा सक्रिय थिइन्। २०५४ देखि अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को जिल्ला सचिव, अध्यक्ष हुँदै उनी पार्टीमा पूर्णकालीन भएकी थिइन्। त्यसयता जिल्ला कमिटी सदस्य, इलाका इन्चार्ज, तमुवान राज्य समितिको सचिवालय सदस्य, सहिद परिवार केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी वहन गरेकी उनी रामबहादुर थापा समूहसँगको एकतापछि केन्द्रीय सदस्य, पोलिटब्युरो सदस्य हुँदै जिल्ला संयोजक बनेकी थिइन्।
२०५४ साल पुस ३ गते तत्कालिन सरकारको गिरफ्तारीमा परी २०५७ साल मंसिरसम्म २ वर्ष जेल जीवन बिताइन् मधुमायाले। २०६१ माघ ३० मा तत्कालिन राज्यपक्षको कारबाहीमा जीवनसाथी आशलाल गुरुङलाई गुमाएकी अधिकारी २०६४ को पहिलो संविधानसभा निर्वाचनमा लमजुङ क्षेत्र नं. २ मा उम्मेदवार बनेकी थिइन्। निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग चुनाव लडेकी उनले नौ हजारभन्दा बढी मत ल्याएकी थिइन्। २०७० को दोस्रो संविधानसभा निर्वाचनमा समानुपातिक सूचीमा रहे पनि उनी सभासदमा छानिइनन्। यसपटक प्रदेश सभातर्फ माओवादीको खस आर्य महिला समूहबाट प्रदेश सांसद बनेकी थिइन्।
उनको राजनीतिक क्रान्तिसँगै सामाजिक क्रान्ति पनि चाखलाग्दो छ। नेपालमा हलो क्रान्ति सुरु भएको जिल्लावासी भएको नाताले उनलाई हलोले पनि प्रेरणा दिएको छ। खस आर्य समुदायमा महिलाले हलो जोत्न हुन्न भन्ने गलत मान्यतालाई चुनौती दिँदै उनले आफ्नो ठाउँमा हलो जोतेर सामाजिक क्रान्तिमा अग्रसरता देखाएकी थिइन्।
मुलुकले राणा शासनबाट मुक्ति खोजिरहेको थियो। सोही क्रममा २००६ सालमा राणाविरोधी आन्दोलन चलिरहेको थियो। सोही आन्दोलनलाई समर्थन गर्दै लमजुङका ३६ जना ब्राम्हणले एकैपटक हलो जोतेर मुलुकमा हलो क्रान्ति सुरु गरेका थिए। त्यतिबेला बाहुनले हलो जोत्न त के छुनसमेत हुन्न भन्ने सामाजिक मान्यता थियो।
पण्डित तोयनाथ अधिकारीको नेतृत्वमा सुरु भएको हलो क्रान्तिले देशभर नै तरंग ल्याएको थियो। सोही क्रान्तिबाट प्रेरित भएकी मधुमायाले पनि बाहुनले हलो जोत्न हुन्न भन्ने मान्यता चिर्दै महिलाले हलो जोत्न हुन्न भन्ने मान्यतामा आइपुगेको नेपाली समाजको गलत बुझाइलाई चुनौती दिँदै लमजुङमा हलो जोतेकी थिइन्।
परिवर्तन चाहने तर परिवर्तन आफूले गर्न नखोज्ने प्रवृत्ति नत्यागेसम्म समाज अग्रगमनमा नजाने उनले तर्क गर्दै आएकी छिन्। गण्डकी प्रदेशमा मन्त्री नियुक्त भए पनि मन्त्रालयको जिम्मेवारी नपाएकी मधुमायालाई कृषि तथा सहकारी वा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइने सम्भावना छ। चार जना मन्त्रीको भाग पाएको माओवादीले मधुमायाबाहेक अरु मन्त्रीको टुंगो लगाउन सकेको छैन।