काडमाडौं- युरोपेली देशहरूको फुटबल प्रतियोगिता युरो कप शुक्रबार इटालीको रोम सहरबाट सुरु भयो। नेपाली समयअनुसार शुक्रबार राती (१२:४५ बजे) सुरु भएको खेलमा इटाली र टर्कीबीच खेल भइरहेको छ। खेलको मध्यान्तरसम्म दुबै टिमले गोल गर्न सकेका छैनन्। खेलमा इटलीले टर्कीलाई दबाबमा राखे पनि गोल हुन भने सकेको छैन।
रोमको ओलम्पिको रंगशालामा महादेशीय प्रतियोगिता जितेको ५३ वर्षपछि इटालीले पुनः त्यही इतिहास दोहोर्याउन चाहन्छ। त्यो सम्भव हुनेमा प्रशिक्षक रोबर्टो मान्सिनीलाई इटालीका फुटबल समर्थकले निकै अपेक्षाका साथ लिएका छन्। ठूलो प्रतियोगिताका लागि लामो समय पर्खिएका इटालीका प्रशिक्षक मान्सिनी र कप्तान जोजिया किलिनी बिहीबार आयोजित पत्रकार सम्मेलनमा खुसी व्यक्त गरेका थिए।
इटालीले सन् १९६८ जुन १० मा भएको दोस्रो खेलमा युगोस्लाभाकियालाई २–० गोलले हराउँदै महादेशीय प्रतियोगिता जितेको थियो। इटालीको इतिहासकै सबैभन्दा पहिलो र ठूलो फुटबल उपाधि थियो। त्यसयता उसले युरो कप जितेन। सन् २००० र सन् २०१२ मा दुई पटक फाइनलमा हार व्यहोरेको थियो।