विराटनगर- प्रदेश १ सरकारले किराँत धर्मसंस्कृतिसँग जोडिएको सप्तकोशीको नदीबीचमा पर्ने खुवालुङ (ढुंगा)को संरक्षण गर्नेसहितका नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। बिहीबार प्रदेश सभामा प्रस्तुत भएको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा 'खुवालुङ’ संरक्षण गर्ने उल्लेख गरिएको हो।
'किराँती संस्कृति, सभ्यता र मुन्धुमसँग जोडिएको सप्तकोशी नदीमा अवस्थित खुवालुङ ढुंगाको संरक्षण गर्दै जलयातायात संगै त्यस क्षेत्रलाई ऐतिहासिक, धार्मिक एवम् साँस्कृतिक पर्यटकीय केन्द्रको रुपमा संरक्षण र विकास गरिने छ,' प्रदेश प्रमुख सोमनाथ प्यासीले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रमको १३५ नम्बर बुँदामा उल्लेछ।
सरकारले खुवालुङ संरक्षण गर्ने नीति लिनु सकारात्मक रहेको प्रदेश सांसद इन्द्र आङ्बोले बताए। खुवालुङ फुटाउने निर्णयको विरोध गर्दै आङ्वो नेतृत्वको सांसदको टिम खुवालुङ भएकै स्थानमा पुगेको थियो।
गत जेठ १५ गते संघीय सरकारले किराँत संस्कृति जोडिएको ‘खुवालुङ ढुंगो’ फुटाउने घोषणा गरेको थियो। कोशी नदीको चतरादेखि भोजपुरसम्म जलयातायात सञ्चालन गर्न जलमार्गमा रहेको अवरोध हटाइने बजेट भाषणमा उल्लेख गरेपछि यो विषय विषय झन् विवादित बनेको छ।
सरकारले आगामी आर्थिक वर्षदेखि कोशी, नारायणी र कर्णाली नदीमा पानीजहाज सञ्चालनका लागि टर्मिनल लगायतका पूर्वाधार निर्माण गर्न आवश्यक रकम विनियोजन गरिएको र कोसी नदीको चतरादेखि भोजपुरसम्म जलयातायात सञ्चालन गर्न जलमार्गमा रहेका अवरोध हटाइने उल्लेख गरेपछि किराँत समुदाय, नागरिक अभियन्ताले सरकारको विरोध गरिरहेका छन्।
‘अहिले स्टिमरले सप्तकोसीमा ११ मिनेटमा चताराबाट भोजपुर पुर्याउँछ। ११ मिनेटमा ल्याउँछ। त्यहाँ बाधा भएको एउटा ढुंगो, त्यसलाई क्रेन लगाएर फुटाउँदै छौं र नदीको बाटो क्लियर गर्दैछौं,’ ओलीले भनेका थिए।
यसअघि गत फागुन ८ गते विराटनगरमा तत्कालीन नेकपा ओली पक्षको प्रदेश १ स्तरीय जनसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सप्तकोशीमा रहेको जल यातायातको अवरोधलाई हटाउने बताएका थिए। प्रधानमन्त्री ओलीले हटाउने भनेको जल अवरोध ‘खुवालुङ’ थियो। प्रधानमन्त्री ओलीको सम्बोधनपछि 'खुवालुङ' मास्न खोजिएको भनी विरोध भएको थियो।
‘अहिले स्टिमरले सप्तकोसीमा ११ मिनेटमा चताराबाट भोजपुर पुर्याउँछ। ११ मिनेटमा ल्याउँछ। त्यहाँ बाधा भएको एउटा ढुंगो, त्यसलाई क्रेन लगाएर फुटाउँदै छौं र नदीको बाटो क्लियर गर्दैछौं,’ ओलीले भनेका थिए।
ओलीको भाषण लगत्तै खुवालुङ ढुङ्गो फुटाउने कार्यको सर्वत्र विरोध थियो। सरकारले किराँत सभ्यता र आस्थासँग जोडिएको विशेष ढुंगा मास्न खोजेको भन्दै तीव्र विरोध भयो। किराँत समुदाय, नागरिक अभियन्ता, प्रदेश सांसदहरुको विरोधपछि अरुण, तमोर र दूधकोसीको संगम त्रिवेणीमा रहेको ढुंगा (खुवालुङ) फुटाउन सरकार पछि हटेको विश्लेषण गरिएको थियो। तर बजेटले सोही खुवालुङ फुटाउने भनेपछि यो विषय अझ विवादित बन्न सक्ने देखिएको छ।