काठमाडौं- स्पेनको राष्ट्रिय फुटबल टिमका कप्तान सर्जियो बस्क्वेटलाई कोरोना संक्रमण भएको छ। युरोपको महादेशीय फुटबल युरो कप सुरु हुनुभन्दा आठ दिन पूर्व बस्क्वेटलाई कोभिड-१९ पोजिटिभ देखिएको हो।
बार्सिलोनाका मिडफिल्डरलाई कोरोनाभाइरस संक्रमण देखिएपछि स्पेनको आगामी मंगलबार हुने लिथुनियाविरुद्धको सिनियर टिमको मैत्रीपूर्ण खेल रोकिएको छ।
यता उनीबाहेक टिमका बाँकी सबै खेलाडीको रिपोर्टमा कोभिड-१९ संक्रमण देखिएको छैन। अहिले ३२ वर्षे बस्क्वेट आइसोलेसनमा छन्।
अब लिथुनियाविरुद्ध खेलमा स्पेनको यू–२१ टिमले खेल्ने स्पेनिस फुटबल फेडेरेसनले बताएको छ। जसका लागि आयोजकले खेलको बिक्री भएको टिकटको रकम फिर्ता गरिरहेको छ भने खेल हेर्न चाहनेलाई छुटमा टिकट उपलब्ध गराएको छ।
युरो कपमा स्पेनले आउँदो जुन १४ को दिन घरेलु मैदान सेभिल्लीमा स्विडेनसँग खेल्ने छ। उसले समूह चरणको बाँकी खेलमा पोल्यान्ड र स्लोभाकियासँग खेल्ने छ।