काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपालले भोलि (सोमबार) खेल्ने खेल जितको मानसिकताका साथ खेल्ने बताएका छन्।
फिफा विश्वकप २०२२ र एसिया कप २०२३ को संयुक्त छनोटअन्तर्गत नेपालले सोमबार जोर्डनविरुद्ध खेल्दैछ। प्रशिक्षक अलमुताइरीले जोर्डनविरुद्ध खेल अवधिभर नै एकै लयमा खेल्ने बताए। अहिले नै नतिजाको अनुमान लगाउनु गलत हुने बताउँदै अलमुताइरीले खेल प्रतिस्पर्धात्मक हुने बताएका छन्।
उनले भने, ‘जोर्डन पनि राम्रो टिम हो। धेरैले नेपाललाई अन्डरडग भनेका छन् तर नतिजा जोर्डनकै पक्षमा जान्छ भन्ने छैन। सायद हाम्रो पक्षमा पनि हुन सक्छ।’
उनले भोलिको खेल जितका लागि खेल्ने बताएका छन्। भन्छन्, ‘लक्ष्य जित्ने नै हुनेछ। अहिले नै रिजल्टबारे आँकलन गर्नु हुँदैन। नेपाली टिमले ९० मिनेट नै खरो प्रतिस्पर्धा गर्नेछ।’
नेपाली टिमले पछिल्लो १० दिन इराक र कुवेतमा अभ्यास गरिरहेको छ भने यसबीच दुई खेल खेलेको छ। चाइनिज ताईपेइविरुद्धको जितपछि नेपालको अभ्यास कस्तो छ भन्ने प्रश्नमा अलमुताइरीले भने, ‘नेपालको तयारी पहिलेको जस्तै छ। चाइनिज ताईपेईको खेलअघि जस्तो तयारी गरिरहेका थियौँ, त्यस्तै तयारी गरिरहेका छौं।’
मौसमबारेको प्रश्नमा भने उनले जवाफ दिएनन्। तर उनले कुवेतको गर्मीका बाजजुद जोर्डनविरुद्धको खेलले सबै नेपालीलाई खुसी दिने दाबी गरेका छन्। उनले अन्तिममा भने, ‘हामीले हामी जित्छौं वा जित्दैनौं भनेको छैन। अष्ट्रेलिया वा जोर्डन दुवैसँग संघर्ष गरेरे खेल्ने हो। हामीले जितको मानसिकताका साथ खेल्नेछौं। डिफेन्सिभ मात्र खेल्दैनौं।’ नेपालले संयुक्त छनोटको अन्तिम खेल जुन ११ मा अष्ट्रेलियाविरुद्ध खेल्नेछ।