काठमाडौं- युरो कप २०२१ को तयारीमा रहेको इटालीले शुक्रबार राति सम्पन्न खेलमा चेक रिपब्लिकमाथि सानदार जित निकालेको छ। इटालीको रेनाटो डल’एरा रंगशालामा सम्पन्न खेलमा घरेलु टिमले चेक रिपब्लिकलाई ४–० गोलअन्तरले हराएको हो।
इटालीको जितका लागि सिरो इमोबाइल, निकोलो ब्यारेला, लोरेन्जो इन्सिग्नी र डोमेनिको बेरार्डीले गोल गरेका थिए।
खेलको २३ औं मिनेटमा इमोबाइल र ४२ औं मिनेटमा ब्यारेलाले गोल गरेपछि पहिलो हाफमा इटालीले दुई गोलको अग्रता बनायो। दोस्रो हाफमा पनि दुई गोल थप्दै ४–० गोलअन्तरको जित निकाल्यो भने इटालीले चेक रिपब्लिकसँग क्लिन सिट राख्यो।
खेलमा ३७ प्रतिशत समय मात्र बलमा नियन्त्रण राख्न सफल चेक रिपब्लिकले इटालीको पोस्टमा आक्रमण गर्न सकेन। उसका ९ प्रहार नै पोस्ट बाहिर गएका थिए।
यता इटालीले लगातार दबाब बनाउँदै खेल जित्यो।