काठमाडौं - राष्ट्रिय महिला भलिबल टिमको प्रशिक्षण केही दिनका लागि स्थगित भएको छ। नेपाल भलिबल संघ (एनभीए) को गत जेठ १४ गते बसेको बैठकले आज(शुक्रबार) बाट प्रशिक्षण सुरु गर्ने बताए पनि संघले केही दिनका प्रशिक्षण स्थगित भएको बताएको हो।
‘काठमाडौं उपत्यकाबाहिरबाट खेलाडीहरू आउने रहेछन्। तर कोभिड–१९ को महामारी र जारी निषेध आदेशका कारण भ्याली बाहिरबाट खेलाडी आउन सकेनन्,’ एनभीएका सचिव मनवीर छन्त्यालले भने, ‘प्रशिक्षण एक–दुई दिन पछि सर्छ त्यसपछि सुरु हुन्छ।’
उनले प्रशिक्षणका लागि निषेध आदेश सकिने बेलासम्म नपर्खिने पनि बताएका छन्। ‘निषेध आदेश खुलेपछि होइन सम्भव भएका खेलाडीहरूलाई यो निषेध आदेश नखुले पनि प्रशिक्षणमा आऊ भनेका छौं,’ उनले भने, ‘एक-दुई दिनपछि खेलाडी आएको वा नआएको हेरेर हामी कार्यक्रम अघि बढाउँछौं।’
उनले यसअघि काठमाडौंमा रहेका खेलाडीलाई बोलाएर प्रशिक्षण गराउनेबारे कुरा भए पनि कोभिड–१९ को परीक्षणका कारण ढिलाइ भएको बताएका छन्।
संघले गत चैतमा सम्पन्न एनभीए क्लब भलिबल लिगबाट ३० खेलाडी छनोट गरेर प्रशिक्षणमा सहभागी गराउने निर्णय गरेको थियो। साथै जेठ १४ गते बसेको संघको बैठकले जगदिश भट्टलाई टिम सम्हाल्ने जिम्मेवारी दिने बताएको थियो।
संघकी उपाध्यक्ष निरोज मास्के, प्रशिक्षक भट्ट र प्रज्वलबहादुर सिंहको छनोट समितिले खेलाडी छनोट गरेको थियो। साथै ट्रेनरको जिम्मेवारी अन्जु श्रेष्ठले पाएकी छन्।
फिलिपिन्समा आयोजना हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपका लागि नेपाली टिमको बन्द प्रशिक्षण सुरु हुन लागेको थियो।