काठमाडौं- नेपाली टिमका कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बिहीबार राती ताइपेईविरुद्धको विजय नेपाली टिमको अन्तराष्ट्रिय खेलमा जितको सुरुवातको रूपमा रहेको बताएका छन्।
गत चैतमा मात्र नेपाली राष्ट्रिय टिम सम्हालेका प्रशिक्षक अल्मुताईरीले यो सुरुवाती जित भएको र आगामी दिनमा जित निकाल्दै जानेमा विश्वस्त हुन अनुरोध गरेका छन्।
अल्मुताइरीले ताइपेईविरुद्ध नेपालको जितलाई नेपालको कोभिड–१९ को महामारीले आक्रान्त बनेको नेपाल, संक्रमितका साथै सम्पूर्ण नेपाली फुटबल समर्थकलाई समर्पित गरेको बताएका छन्।
यो खेलले व्यक्तिगत र राष्ट्रिको हिसाबले धेरै अर्थ राख्ने उनको भनाइ छ। ‘यो खेलले धेरै अर्थ राख्छ। मैले कुवेत र नेपालको प्रतिनिधित्व गरिरहेको छु,' उनले भने, 'पहिलो पटक कुवेती प्रशिक्षकले गैरकुवेती राष्ट्रिय टिमको मुख्य प्रशिक्षक भएर अफिसियल खेलमा जित निकालिरहेको छ। यसकारण म धेरै खुसी छु।’
जितले ऊर्जा दिएको र अबका दिनमा अझै धेरै राम्रो खेल्ने उनको भनाइ छ। खेलाडी, प्रशिक्षक र अफिसियलले अझै प्रयास गरिरहनेमा उनले विश्वास दिलाए।
‘अब हाम्रो लक्ष्य भनेको एसिया कप छनोट खेल्ने हुनेछ। जसका लागि हामीले धेरै अभ्यास गर्नुपर्ने छ,’ उनले भने, ‘अब धेरै गर्न र खेल्न बाँकी छ। यो सुरुवात मात्र हो। हामी अघि बढिरहने छौं।’
अल्मुताइरीले सुरुमा पुजन उपरकोटी र आशिष लामालाई मैदानमा उतारेका थिए। ‘सुरुमा आशिषलगायतका खेलाडीलाई प्रयोग गरेर चाइनिज ताइपेईलाई सरप्राइज दिएको थिएँ। उनीहरूलाई आशिष र सुनिल बलबारे थाहा थिएन र मैदानमा ल्याएँ। तर पछि खेलाडी परिवर्तन गर्न आवश्यक भयो। परिवर्तनले गोल गर्न सफल भयो,’ उनले भने। उनले चाइनिज ताइपेईको खेललाई विश्लेषण गरेर नै खेलाडी परिवर्तन गरेको बताए।
खेलको तेस्रो मिनेटमा अन्जन विष्टले पेनाल्टीमार्फत् गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए। यसबारे उनले भने, ‘अन्जनको पहिलो गोलले नै हामीलाई अग्रता दिलायो। यसले ताइपेईमाथि दबाब बनाइराख्न सहयोग गर्यो।’
प्रतिस्पर्धीलाई के सुझाव दिन चहानुहुन्छ? भन्ने पत्रकारको प्रश्नमा अल्मुताईरीले भने, ‘प्रशिक्षकका लागि अरु टिमलाई ध्यानमा राख्न सक्नु राम्रो हो। मलाई लाग्छ अरुको टिमलाई राम्ररी विश्लेषण गर्न जरुरी छ। उनीहरुले राम्रो खेले तर मैदानमा हरेक क्षण चनाखो भएर खेल्नुपर्छ।'
ताइपेईका प्रशिक्षक जे वाङले आफ्नो टिमले राम्रो गर्न खोजे पनि सोचेजस्तो नतिजा ननिस्किएको बताए। सुरुमा दबाब बनाए पनि अन्तिमको १५ मिनेटमा के भयो? भन्ने प्रश्नमा वाङले भने, ‘हामीले खेलाडीको अवस्था हेर्नुपर्छ। फिजियोले पनि उनले खेल्न सक्दैनन्। कप्तानलाई आरम दियौँ। तर थपिएको खेलाडीले राम्रो गर्न सकेनन्।’