बुधबार, माघ ७, २०८२

असफलताबाट निखारिएका प्रशिक्षक टुचेल

बोरुसिया डर्टमन्डबाट जर्मन कप जितेपछि होस् वा पीएसजीबाट फ्रेन्च कप जितेपछि उनले क्लबबाट सरप्राइज पाएका छन्। ती सरप्राइज थिए क्लबबाट बर्खास्त गरिएको सूचना।
 |  सोमबार, जेठ १७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १७, २०७८

बोरुसिया डर्टमन्डबाट जर्मन कप जितेपछि होस् वा पीएसजीबाट फ्रेन्च कप जितेपछि उनले क्लबबाट सरप्राइज पाएका छन्। ती सरप्राइज थिए क्लबबाट बर्खास्त गरिएको सूचना।

National life

काठमाडौं - पछिल्लो सिजनमा असफल र पराजित घोषित जर्मन फुटबल प्रशिक्षक थोमस टुचेल यो सिजन च्याम्पियन्स लिगमा सफल प्रशिक्षकका रुपमा स्थापित बने। सायद उनलाई पोहोरको त्यो हार खुब बिझेको थियो, जसको झल्को यसपालि पनि देखियो।

उपाधि जित्दा खेलाडी जति खुसी देखिन्थे त्यसको तुलनामा प्रशिक्षकको अनुहारमा पोहोर पोर्चुगलको लिस्बनमै बेहोरेको हारमा देखिएको पीडामिश्रित हाँसो मात्र देखिन्थ्यो।

खेलअघि चेल्सीका म्यानेजर टुचेललाई म्यानचेस्टर सिटीका पेप ग्वार्डिओलाविरुद्ध आफ्नो रणनीतिक र व्यक्तिगत लडाईंभन्दा धेरै तनावको चपेटा पनि त थियो। तर, शनिबार रातिको खेलपछि विश्व फुटबलको केन्द्रमा टुचेल नै पुगिसके।

‘कता कता विश्वास नै लागिरहेको छैन कि हामीले उपाधि सम्भव बनायौं। वाउ ! जितको खुसी सबैसँग बाँड्दा गर्व लागेको छ। यो बेला कस्तो महसुस गर्ने भन्ने नै थाहा छैन,’ सिटीलाई १–० गोलले हराउँदै युरोपेली च्याम्पियन भएपछि बिटी स्पोर्टसँग उनले भने।

Laxmi sunrise bank
kumari

सिजन सुरु भएको धेरै खेलपछि मात्र अनुबन्ध भए पनि चेल्सीलाई छुट्टै गति दिनु उनको विशेषताः बन्यो। उसो त परिवर्तन नै परिवर्तनले भरिएको टुचेलको प्रशिक्षण चेल्सीमा ३० खेलको मात्र थियो। एक सिजनमा क्लबले खेल्ने जम्मा खेलको झन्डै आधा मात्र।

त्यसमाथि मेलो नलागेका बर गोरुजस्तै थियो, टुचेल आउँदा चेल्सीको टिम। टिममा गोल खडेरी बेहोरिरहेका खेलाडी थिए। हारको संघारबाट गुज्रिएर लिगको सातौं स्थानमा पुगेको थियो चेल्सी।

उनले विस्तारै आफ्नो रणनीतिमा ढाले, लगातार जित ननिकाले पनि ११ खेलसम्म टिमलाई हार्न दिएनन्। त्यसले टिममा जितको प्यास बढ्दै गयो। उनले त्यहीअनुसारको रणनीति विकास गर्दै गर्दै गए। जसले गर्दा सिजन सकिने समयमा निकै बलिया बनिसकेका थिए टुचेल। र, उनको टिम।

टुचेलको रणनीति सामु सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाको रणनीति पछिल्लो दुई खेलबाटै फेल खाइरहेको थियो। यद्यपि बार्सिलोनाबाट २ पटक च्याम्पियन्स लिग जितिसकेका ग्वार्डिओलालाई पन्छाउनु चानचुने कुरा थिएन। तर, बार्यन म्युनिखमा पनि च्याम्पियनसिप जित्न सकेनन्, साेही कथा म्यानचेस्टर सिटीमा पनि दाेहाेरियाे।

पछिल्ला रणनीति फेल खाएपछि ग्वार्डिओलालाई पनि केही नयाँ गर्नु थियो। र, फाइनलमा त्यही नयाँ टेस्ट गरे। ग्वार्डिओलाले सिटीमा यसअघि कहिल्यै नबनाएको प्लेइङ ११ को सेट मैदानमा उतारेका थिए, जुन फेलियर रह्यो।

त्यो टिमले सिटीको पहिलेको जस्तो प्रवाह अभावको महसुस गर्‍यो, टिम अलमलमा देखिन्थ्यो र मिडफिल्डमा नेतृत्व नै हराएको भान हुन्थ्यो। त्यसैले सिटीले अट्याक गर्ने अवसर कम थियो।

फलस्वरुप सिटीले चेल्सीको पोस्टमा एकमात्र प्रहार गर्न सकेको थियो। त्यसको फाइदा उठाउँदै टुचेलले आफ्नो परिवारसँगै पोर्चुगलको पोर्टाेस्थित स्टेडियो डो ड्रागोमा उपाधि उत्सव मनाए, समर्थकका साथमा। किनभने टुचेलसँग केई हभार्टज् नामक खतरनाक हतियार मैदानमा थिए। मेसन माउन्टले पास दिएपछि निर्णायक गोल हभार्टज्ले नै त गरेका थिए।

‘खेलाडी जित्नका लागि उत्सुक थिए। हामी प्रतिस्पर्धीको खुट्टामा लाग्ने ठेस बन्न चाहन्थ्यौँ। हामीले एक अर्कालाई प्रेरणा दिइरह्यौं र खतरनाक अट्याकको प्रयास गरिरह्याैं,’ टुचेलले जितपछि प्रतिक्रिया दिए, ‘यो उत्कृष्ट खेल थियो एक अर्काको साथ दिनुपर्ने अवस्था थियो।’

सायद उनले यसरी उत्सव कमै मात्र मनाएका छन्। जितपछि क्लबले दिने सरप्राइजले कहाँ उनी रमाइरहन सकेका छन् र ? जित्दाजित्दै बर्खास्तमा परिहाल्छन् प्रशिक्षक टुचेल। बोरुसिया डर्टमन्डबाट जर्मन कप जितेपछि होस् वा पीएसजीबाट फ्रेन्च कप जितेपछि उनले क्लबबाट सरप्राइज पाएका छन्। ती सरप्राइज थिए क्लबबाट बर्खास्त गरिएको सूचना।

यता चेल्सीको इतिहासमा भने प्रशिक्षकको आकस्मिक परिवर्तनले उपाधि दिलाउने गरेको छ। २०१२ मा प्रशिक्षक आन्द्रे भिल्ला बोसलाई रोबर्टो डी माथिउले प्रतिस्थापन गरेपछि क्लबले उपाधि जितेको थियो।

यो वर्षको जनवरीमा पनि फ्रांक लाम्पार्डलाई हटाएर टुचेल ल्याएपछि चेल्सीले उपाधि जित्यो। तीन पटक च्याम्पियन्स लिग उपाधि जित्ने ग्वार्डिओलाको सपनामा उनले पानी फेरिदिए।

यसरी उनी योर्गेन क्लोप, हान्सी फ्लिकपछि लगातार युरोपेली च्याम्पियन बन्ने तेस्रो जर्मन प्रशिक्षक भए।

जित्दा जित्दै बर्खास्तीको सास्ती

२०२० को क्रिसमसको माहोल थियो। क्रिसमस र नयाँ वर्षको रौनकसँगै खेल कम हुँदै थिए। डिसेम्बर २४, अर्थात् क्रिसमसको एक दिन अघिबाटै फ्रेन्च लिग वानका खेल तालिका जनवरी ६ सम्मका थिएनन्।

त्यसबीच नयाँ वर्ष र क्रिसमसले सेलाएको युरोपियन फुटबलको माहोल एकाएक गरम बन्यो। त्यसो हुनुका कारण थिए– थोमस टुचेल। पेरिस सेन्ट जर्मेन (पीएसजी)का प्रशिक्षकलाई कतारी मालिकले बर्खास्त गर्ने निर्णय गरेका थिए।

चालु सिजनमा पीएसजीको प्रदर्शन एकनासको थिएन। तर, अवस्था त्यस्तो खराब पनि त थिएन। तर, किन हो पीएसजीका कतारी मालिक नासिर अल खेलाइफीले टुचेललाई रुचाएनन्। र, त ट्रासबर्गविरुद्धको खेलमा ४–० को जित निकालेको भोलिपल्ट ४७ वर्षीय जर्मन प्रशिक्षकले जागिरबाट हात धुनुपर्‍यो।

यता समर्थकले शंका गरिहाले– पछिल्लो सिजनमा घरेलु लिग, कप जिताएका र क्लबको इतिहासमै पहिलो पटक च्याम्पियन्स लिग फाइनलसम्म पुर्‍याएका प्रशिक्षकलाई हठात् किन हटाइयो ? 

चालु सिजनकै च्याम्पियन्स लिगको समूह चरणमा पीएसजी अन्तिम १६ प्रवेश गर्ने–नगर्ने धरमरकै अवस्था थियो। तर, टुचेलको नेतृत्वमा ऊ अन्तिम १६ मा प्रवेश गर्दै बार्सिलोनाको प्रतिद्वन्द्वी भयो। तर, उनले खेलाउन पाएनन्।

ठूलो लगानी र ५० वर्षको इतिहास बोकेको क्लबले राखेको च्याम्पियन्स लिग जित्ने महत्त्वाकांक्षा अस्वाभाविक पनि थिएन। यस्तोमा धेरैले सोचेका थिएनन् कि टुचेल बर्खास्त हुनेछन्। बरु सोचेका थिए अघिल्लो सिजनको फाइनलसम्म पुगेको अनुभव उनले यो सिजनमा लगाउने छन् र क्लबलाई ऐतिहासिक ट्रफी दिलाउने छन्।

तर, उनको नियति भनौं वा क्लबको नीति टुचेल अप्रत्यासित रुपमा वर्खास्तीमा परे। कारण उनले २ सिजनमा च्याम्पियन्स लिगको ट्रफी दिलाउन सकेनन्।

तर, पीएसजीबाट टुचेलको बहिर्गमन भने जर्मन क्लब बोरुसिया डर्टमन्डको बहिर्गमनभन्दा फरक थिएन। उनको नियति भन्दा फरक नपर्ला– बोरुसिया डर्टमन्डसँग उनको ब्रेकअप हुँदा पनि अवस्था ठ्याक्कै यस्तै थियो।

क्लबको अधिकारीसँग उनको सम्बन्ध राम्रो बन्न नसकेको चर्चा सुन्न पाइन्छ। उनको यस्तो गतिविधिको कुरा गरिरहँदा बोरुसिया डर्टमन्ड अध्यक्ष हान्स जोआचिमले भनेको कुरा बिर्सनु हुँदैन। उनले भनेका थिए, ‘टुचेल अप्ठ्यारो स्वभावका मानिस हुन् तर फेन्टास्टिक प्रशिक्षक हुन्।’

बोरुसिया डर्टमन्डमा उनले क्लबलाई एउटा ठूलो उपहार दिए। उनले दुई सिजनमा कहिल्यै घरेलु समर्थकलाई निराश बनाएनन्। उनको रणनीतिमा जतिपटक घरेलु मैदानमा खेल भयो उतिपटक नै डर्टमन्ड विजयी भयो।

लगातार जित निकालिरहेको बायर्न म्युनिखलाई पनि उनको रणनीतिले हरायो। त्यस्तै उनले जर्मन कपको उपाधि पनि दिलाए। जसै टोली विजेता बन्यो क्लबले उनलाई सजाय दियो। उपाधि जितेको तीन दिनपछि उनी बर्खास्त भए।

तर, उतिबेला डर्टमन्ड बुन्डेसलिगाको अंकतालिकामा भने तेस्रो नम्बरमा थियो। संयोग कस्तो भने पीएसजीबाट उनको बहिर्गमन हुँदा पनि क्लब घरेलु लिगको तेस्रो नम्बरमै थियो। उनी बर्खास्त हुँदा गोल डटकमले टुचेलको बर्खास्तीको कारण चाहिँ प्रशिक्षण क्षमताको आधारमा कम र ड्रेसिङ रुमको व्यवहार बढी रहेको बताएको थियो।

यता क्लबका अनुसार उतिबेला प्रशिक्षक र डर्टमन्डका खेलाडीको सम्बन्ध यति बिग्रिएको थियो कि टुचेल काम गर्न सक्ने अवस्थामा थिएनन्। क्लबका तत्कालीन कप्तान मार्सेल स्मलचर र फरवार्ड मार्कस रिउस पनि उनीबाट रुष्ट भएका थिए। तर, युरोपमा छापिने कतिपय विश्वप्रसिद्ध पत्रिकाले क्लबसँगको खराब सम्बन्धका कारण उनी बर्खास्त भएको टिप्पणी गरेका थिए।

उनको बर्खास्तीको कारण जे होस्, तर राम्रो रणनीतिकार टुचेल उपाधि जित्दाजित्दै बर्खास्त हुने गरेका छन्। त्यो पनि नियतिले डर्टमन्ड र पीएसजीमा अंकतालिकामा तेस्रो स्थानमा रहँदा नै टुचेल बर्खास्त हुनुपरेको छ।

चेल्सीमा कस्तो रहला सम्बन्ध ?

कसैलाई थाहा छैन किन टुचेलको चेल्सीसँगको मायाप्रेम कहिलेसम्म, कति समयसम्म चल्नेछन्। त्यसो त उनले गएको जनवरीमा १८ महिनाको सम्झौता मात्र गरेका छन्।

तर, खेलाडीलाईं संगालेर खेलाउन सक्ने उनीमाथि क्लबले पक्कै विश्वास गरेको छ। उनले च्याम्पियन्स लिग फाइनलपछि मात्र क्लबका अध्यक्ष रोमन अब्रामोविचलाई भेटेका थिए।

‘सायद अब मैले क्लबसँग नयाँ सम्झौता गर्ने अवसर पाउने छु,’ टुचेलको भनाइलाई बीबीसीले लेखेको छ, ‘मैले अहिले मात्र अध्यक्षसँग कुरा गरेँ र हाम्रो पहिलो बसाइँ नै सानदार रह्यो।’

उनले अन्तिममा भने, ‘सायद यो मेरो लागि खराब क्षण पनि हुन सक्छ।’

तर, अहिले प्रशिक्षक टुचेललाई खेलाडीदेखि समर्थकले पनि मन पराएका छन्। एफए कपको फाइनलमा हार बेहोरे पनि युरोपको सर्वाधिक राशि भएको च्याम्पियन्स लिग भने जितेका छन्।

यसले उनको छवी संग्लिएको छ। उनको जहिलेको द्वन्द्व पनि क्लबसँग नै हो तर मे महिनाको सुरुमा द गार्डियनसँग दिएको एक प्रतिक्रियामा पनि क्लब आफूसँग विश्वस्त रहेको बताएका थिए। उनले भनेका थिए, ‘म बोर्डसँग नजिक छु। उनीहरूलाई केही अफसोच छैन। मलाई लाग्छ चेल्सीको नतिजा रोमनलाई पनि मन परेको छ।’

अब टुचेलले दुई दिन भित्रमा चेल्सीसँग नयाँ सम्झौता गर्दैछन्। ‘दुई दिनभित्रै चेल्सीसँग  नयाँ सम्झौता पक्का भएको छ। उनी यसअघि नै सम्झौताको केन्द्रमा थिए,’ इटालियन खेलपत्रकार फाब्रिजियो रोमानोले ट्वीटरमा लेखेका छन्।

२०२३ को सिजनको अन्तिमबाट एक सिजन थप गर्ने सहितको नयाँ सम्झौतामा हुने विश्वास गरिएको छ।

(याे सामग्री बीबीसी, बिटी स्पोर्टस्, द गार्डियन, गोल डट कममा आधारित रहेर नेपालसमयकर्मी विनय ज्योति सापकोटाले तयार पारेका हुन्।)

*सामग्रीमा भएका तथ्य फरक पर्न गएकोमा यसलाई पुनर्सम्पादन गरिएको छ - सम्पादक

प्रकाशित: May 31, 2021| 03:23 सोमबार, जेठ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।