काठमाडौं- इराकविरुद्ध नेपालका मनिष डाँगीले डेब्यु गोल गरेका छन्। शनिबार मात्र नेपाली सिनियर टिममा डेब्यू गरेका २९औं मिनेटमा डाँगीले डेब्यू गोल पनि गरेका हुन्।
नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज फुटबल नेपाल सुपर लिगमा डाँगीले विराटनगरको टिमबाट खेलेका थिए। उनले त्यहाँ उत्कृष्ट प्रदर्शन गरेपछि उनी नेपाली टिममा परेका थिए। टिममा मात्र परेनन्। उनी विश्वकप छनोटमा जाने टिममा पनि परेका थिए। र, आजको खेलको सुरुआति रोजाइमा पर्दै उनले २९औं मिनेटमा गोल गरेका हुन्।
इराकविरुद्ध मैत्रीपूर्ण खेलको छैटौं मिनेटमै घरेलु टिमले 'फ्री किक' पाएपछि बसर सहरस्थित अल फाल्ह मैदानमा आला अब्दुल जहर खसिनले गोल गरेका थिए। ५ नेपाली खेलाडीले बनाएको वाल माथिबाट गएको बल गोलकिपर किरण कुमार लिम्बूले छेक्न नसकेपछि इराकले सातौं मिनेटमै अग्रता बनायो भने नेपाल एक गोलले पछि पर्यो।
तर, नेपाल टिमले दबाब महसुस गरेन। फरवार्ड नवयुग श्रेष्ठले दिएको पासलाई इराकका गोकिपरलाई छक्काउँदै अर्को फरवार्ड अन्जन विष्टले नवौं मिनेटमा गोल गरे। उनले प्रहार गरेको बल इराकका डिफेन्डरले पुनः प्रहार गरे पनि बलले पोस्टबाहिरको दिशा लिन सकेन। यससँगै सुरुआति १० मिनेटमै खेल १–१ गोलको बराबरी भयो।
तर विष्टले १३ औं मिनेटमा अर्को राम्रो अवसर भने गुमाए। इराकका किपर फहद रहिम सँग वान टू वानको अवस्थामा उनले सिधा किपरको हातमा बल प्रहार गरेपछि नेपाल अग्रता बनाउनबाट चुक्यो।
त्यसो त खेल बराबरीमा आएपछि नै दबाब बनाउन सुरु गरेको इराकले नेपालको पोस्टमा लगातार प्रहार गरिरह्यो। त्यसबीचमा नेपाल र इराकले नेपालकै पोस्टनजिक बल खेलिरह्यो। यसैबीच नेपालले अर्को काउन्टर अट्याक गर्दै गोल गर्यो।
तर पहिलो हाफमा नेपालले यो अग्रता कायम राख्न सकेन। २–१ गोलले अघि भएको अवस्थाको ३०औं र ४०औं मिनेटमा नेपालले लगातार दुई गोल व्यहोर्यो। मोहम्मद अब्दुल्लजहर ओबाड र अमेन हुसैन घदबनले गोल गरे। कर्नर बललाई हेडमार्फत् ओबाडले गोलमा परिवर्तन गरेका थिए।
पहिलो हाफमा घदबनले पुनः अर्को गोल गरेपछि इराकाले पहिलो हाफमै ४–२ गोलको अग्रता बनाएको छ। दोस्रो हाफको खेल हुन बाँकी छ।
