धनगढी– कोरोना भाइरसको दोस्रो लहरले त्रासदी छाएको छ सबैतिर। कोरोनाको दोस्रो लहरलाई चेन ब्रेक गर्न देशका सबैजसो देशमा निषेध आदेश लगाइएको छ।
जनजीवन प्रभावित भएको छ। विद्यालय बन्द हुँदा विद्यार्थीको दैनिकी पनि फेरिएको छ। भौतिक रुपमा उपस्थित भएर विद्यार्थी पढ्न पाएका छैनन्। कतिपय ठाउँमा त अनलाइन क्लाससमेत हुन सकेको छैन। सधैंजसो व्यस्त रहने विद्यार्थीहरु निषेध आदेशपछि फुर्सदिला भएका छन्। यही फुर्सदको समयलाई सदुपयोग गर्दै कञ्चनपुरको बेदकोट नगरपालिका–३ दैजीकी स्मृति पाण्डे भने लिफ आर्टमा व्यस्त रहने गरेकी छन्।
पहिलेदेखि पेन्सिलले स्केच कोर्दै आएकी स्मृतिले निषेध आदेशलाई सदुपयोग गर्दै बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको पीपलको पातमा तस्बिर कोरिन्। कञ्चनपुरमा मात्र नभएर देशभर कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको न्यायका लागि भएका आन्दोलन नियालेकी स्मृतीले पीपलको पातमा निर्मलाको सांकेतिक आकृति उतार्दै ‘न्याय खै’ लेखेकी थिइन्।
सुदूरपश्चिम विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ दोश्रो सेमेस्टरमा अध्ययनरत स्मृतिले लिफ आर्टस्, फेस पेन्टिङ सँगसँगै मण्डलासमेत बनाउँदै आएकी छिन्। उनले निषेध आदेशको सदुपयोग गर्दै निर्मला पन्त, धरहरा, गौतम बुद्ध, मिस नेपाल शृंखला खतिवडा तथा देवीदेवताहरुको पनि पीपलको पातमा सांकेतिक आकृति कोरिसकेको बताइन्।
उनी पीपलको पातमा ब्लेडको सहायताले विभिन्न आकृति कोर्छिन्। लिफ आर्टससँगै पेन्सिल स्केचसमेत कोर्दै आएकी स्मृतिले आमाबाबु र अंकलको सहयोग र हौसलाले पढाइसँगै कला अगाडि बढाउन सहयोग पुगेको बताइन्।