हुँदैन विहान मिर्मिरेमा तारा झरेर नगए।
बन्दैन मलुक दुईचार सपूत मरेर नगए।
कवि भूपि शेरचनकै शब्दमा भन्ने हो भने सहिदले बलिदान दिएपछि प्राप्त उपब्धिको उल्लासपूर्ण दिन हो गणतन्त्र दिवस। हाम्राे मुलुकमा भन्ने हाे भने १० वर्षे सशस्त्र युद्ध र १९ दिने जनआन्दोलनको बलमा जनताको शासन व्यवस्था स्थापित भएको दिन। गणतन्त्रको जग गाडिएको १३ वर्ष पुग्यो। पृथ्वीनारायण शाहपछि एकात्मक शासन पद्धतिमा चल्दै आएको दम्भिलो व्यवस्था ढालेर २०६५ सालमा आजैका दिन गणतन्त्र स्थापना भएको हो।
जनताको छोरो जनताकै माझबाट देशको सर्वोच्च निकायमा पुगेर शासन गर्ने प्रणालीको स्थापना भएको खुखीमा प्रत्येक वर्ष जेठ १५ गणतन्त्र दिवस मनाइन्छ। यो व्यवस्था ल्याउन थुप्रै नेपालीले रगत पसिना बताएका छन्। थुप्रै व्यक्ति सहिद पनि बनेका छन्। गणतन्त्र ल्याउन नेता मात्रैको भूमिका छैन। कवि, साहित्यकार, नागरिक अगुवादेखि सबै जनताको उत्तिकै योगदान छ। २०६२/६३ सालको जनआन्दोलनमा नेताहरू तानाशाही शासन व्यवस्थाविरुद्ध सडकमा थिए। उनीहरूको आन्दोलनलाई ऊर्जा प्रदान गर्न कवि तथा साहित्यकार पनि सडकमा पुग्ने गर्थे।
जनआन्दोलनताका मुकारुङलाई चैनको निद्रा लाग्थेन। आन्दोलनमा के कविता सुनाउने भन्ने हुटहुटीले पिरोलिरहन्थ्यो। उनलाई तानाशाही शाही सरकार मन परेको थिएन। जसरी पनि देशमा जनताको छोरोले शासन गर्ने व्यवस्था हुनुपर्छ लाग्थ्यो।
उनीहरूका क्रान्तिकारी शब्दशिल्पीले आन्दोलनकारीको मनोबल बढाउनुका साथै शोषणकारी व्यवस्थाविरुद्ध रगत नै उमाल्यो। जनआन्दोलनका सक्रिय कविलाई सम्झिँदा श्रवण मुकारुङको नाम अग्रपंक्तिमा आउँछ र उनको ‘बिसे नगर्चीको बयान’ कविता। यो कविताले जनआन्दोलनमा तहल्का नै पिटेको थियो। जनआन्दोलनताका मुकारुङलाई चैनको निद्रा लाग्थेन। आन्दोलनमा के कविता सुनाउने भन्ने हुटहुटीले पिरोलिरहन्थ्यो। उनलाई तानाशाही शाही सरकार मन परेको थिएन। जसरी पनि देशमा जनताको छोरोले शासन गर्ने व्यवस्था हुनुपर्छ लाग्थ्यो।
जनता माझबाट चुनिएर गएको व्यक्तिले जनताका पीरमर्का बुझेको हुन्छ। उसले देश र जनताका लागि काम गर्नेछ भन्ने लाग्थ्यो। त्यसैले उनी जनआन्दोलनका हरेक कार्यक्रममा सहभागी हुन्थे। २०६२ असार ४ गते आर्ट काउन्सिल, बबरमहलमा ‘रेडियो बचाऔं आन्दोलन’ मा कविता सुनाउने कार्यक्रम थियो। अघिल्लो रातभर निद्रै लागेन। के गरौंगरौं भयो। मनमा बेचैनीका ज्वारभाटाले छाल हानिरहेका थिए। मध्यरातमा ती ज्वारभाटाले किनारा भेट्यो। जन्मियो बिसे नगर्चीको बयान। भोलिपल्ट उनले सोही कविता सुनाए।
यस्तो थियो कविता–
मालिक!
म यो गोरखा राज्यमा
अढाई सय वर्षपछि बौलाएँ
मेरो टाउको फन्फनी घुमिरहेछ
जमिन आकाशतिर
आकाश जमिनतिर भइरहेछ
आँखा तिर्मिरतिर्मिर भएर
हजुरको शीर दशवटा देखिरहेछु
खोइ मेरो पैताला कहाँनिर छ?
कहाँनिर छ बिसे नगर्ची?
मालिक! म बौलाएँ
मैले त महाराजको सेवा गर्नुपर्ने
इतिहासको रक्षा गर्न
यो गोरखकालीको पाउ छोएर
नुनको सोझो हुनुपर्ने
अढाई सय वर्षपछि –
आज के भयो मलाई?
यो बिसेलाई दशा लाग्यो मालिक!
म बौलाएँ
नाथे मेरी स्वास्नी न हो मारिएकी
नाथे छोरी न हो बलात्कृत भएकी
नाथे यो बिसेको झुप्रो न हो जलाइएको
यतिमै यो बिसे उफ्रिनु पर्ने?
थुइक्क बिसे...
म बौलाएँ मालिक!
म बौलाएँ
मेरो हात भाँच्चियो
अब म हजुरका भारदारहरुलाई
लबेदा सिउन सक्दिनँ
नर्सिंगा फुक्न, सनई बजाउन
अथवा, कुनै मंगलगान
वा ऋतुगान गाउन सक्दिनँ
मेरो खुट्टा भाँच्चियो
अब म हजुरको राज्यको पहरा गर्न सक्दिनँ
मेरो दिमागै ठीकमा छैन
अब म ठीक्कले बोल्नै सक्दिनँ
मालिक! म बौलाएँ
मालिक!
यो गोरखा राज्यअघि उभिएका
हिजोका ती अग्ला–अग्ला पहाडहरु
आज कसरी यस्तरी होचा–होचा भए?
हिजोका ती सग्ला र कल्कलाउँदा यहाँका मानिसहरु
आज कसरी यस्तरी खुनी र कुरुप भए?
यो दरौंदी किन उल्टो बगेको देख्छु?
यो दरबारै किन खण्डहरजस्तो देख्छु?
मालिक! म बौलाएँ
मालिक!
हजुरको तरबारले
टाउको काट्छ कि फूल?
भ्रममा परें म
हजुरको बन्दुकले
विचार ढाल्छ कि मान्छे?
भ्रममा परें म
यस राज्यलाई
प्रजाले बनायो कि राजाले?
भ्रममा परें म
अढाई सय वर्षदेखि म तपाईंसमक्ष छु
मालिक!
म कसरी आतंककारी हुन सक्छु?
म केवल बौलाएँ मालिक!
बौलाएँ
हो मैले–
मालिकको दिव्योपदेश पालन गरिनँ हुँला
रक्सी खाएर–
यो देश मैले पनि आर्जेको हुँ भनें हुँला
भानुभक्त बाजेको गीत र मेरो सियो
बराबर हो भने हुँला
मैले सिएको सुकिला लुगा ओढेकाहरुलाई
मेरो नांगो आङ देखाएँ हुँला
बौलाएपछि मैले
मेरै भगवानलाई पनि गाली गरें हुँला
मालिक!
मान्छे बौलाएपछि
आफैंसँग निहुँ खोज्दोरहेछ
अढाई सय वर्षदेखि
मैले तुनेका थाङ्नामा हुर्केका
मेरा दरसन्तान कहाँकहाँ पुगे?
मैले खोज्न चाहें हुँला
मेरा औंलामा खोपिएका छ्यान्द्रा
र बगेका रगतहरुले मलाई उक्सायो
तरबारले आर्जेको मुलुकभन्दा मैले
धागोले उनेको मुलुक विशाल ठानें हुँला
मालिक!
यस माटोको इतिहाससँगै
म हजुरको राष्ट्रमा छु
म कसरी अराष्ट्रिय हुन सक्छु?
म साँच्चै बौलाएँ मालिक!
साँच्चै बौलाएँ
मेरो टाउको फनफनी घुमिरहेछ
जमिन आकाशतिर
आकाश जमिनतिर भइरहेछ
आँखा तिर्मिर–तिर्मिर भएर
हजुरको शिर दसवटा देखिरहेछु
खोइ मेरो पैताला कहाँ छ?
कहाँ छ बिसे नगर्ची?
मालिक! म बौलाएँ।
दर्शकदीर्घाबाट गडगडगड ताली बज्यो। बिसे नगर्चिको चर्चा चुलियो। आन्दोलनका कार्यत्रममा जतासुकै त्यही कविताको माग हुन थाल्यो। तर, अहिले आफूहरूले पुर्याएको त्यो योगदान कवि मुकारुङलाई व्यर्थ लाग्न थालेको छ। ‘मुलुक एउटा प्रक्रियामा अगाडि बढिरहेको थियो। तर, वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसलाई व्यर्थ तुल्याइदिनुभयो’, उनले भने।
दुई कम्युनिस्ट दलले मिलेको नाटक गरेर देशलाई भड्कालोमा हाल्ने काम गरेको कवि मुकारुङकाे टिप्पणी छ। जनताले स्थायी सरकार बन्ला भनेर कम्युनिस्टलाई दुई तिहाइ दिएकोमा अहिले त्यो आफ्नै लागि अभिसाप साबित हुन पुगेको छ। कम्युनिस्टहरूले जनतालाई धेरै ठूलो धोका दिएको कवि मुकारुङ बताउँछन्।
प्रधानमन्त्री ओली पहिलेदेखि नै गणतन्त्रको पक्षमा नरहेको र उनको अहिलेको भूमिकाले त्यसलाई प्रस्ट पारिदिएको उनको बुझाइ छ। ‘ओली प्रधानमन्त्री हुँदा नै ममा यी मान्छेमा प्रगतिशील सोच छैन, गणतन्त्रले प्राप्त गरेका उपलब्धिप्रति सहिष्ण छैनन् भनेर चस्का पसेको थियो। ओलीको भूमिका निरंकुश र प्रतिगमन उन्मुख देखिन्छ’, कवि मुकारुङले भने।
ओलीमा सामन्ती चरित्रकाे विकास भइरहेकाे आराेप कवि मुकारुङको छ। ‘यो लोकमा मभन्दा जान्ने र ठूलो कोही छैन लाग्छ उहाँलाई। ओलीले यत्रो ठूलो परिवर्तनलाई नै चुनौती दिइराख्नुभएको छ’, उनले भने।
पार्टी विधि र पद्धतिमा चल्ने संस्था भए पनि ओलीले त्यो पद्धतिमाथि प्रहार गर्दै व्यक्तिवादी चरित्रलाई उदांगो पारेको मुकारुङको विश्लेषण छ। उनको बुझाइमा गणतन्त्रमा यो शोभनीय होइन। ओलीमा सामन्ती चरित्रकाे विकास भएको कवि मुकारुङको आरोप छ। ‘यो लोकमा मभन्दा जान्ने र ठूलो कोही छैन लाग्छ उहाँलाई। ओलीले यत्रो ठूलो परिवर्तनलाई नै चुनौती दिइराख्नुभएको छ’, उनले भने।
अब २०६२/६३ का उपलब्धिको रक्षा गर्ने दायित्व अदालतमा पुगेको बताउँदै मुकारुङले त्यसको रक्षा गर्नेमा आफू विश्वस्त रहेको बताए।
अदालतले पनि प्रतिगमनलाई नै साथ दिए फेरि पनि सडकमा आउनुपर्ने अवस्था आउन सक्ने उनको शंका छ। ओलीबाट गणतन्त्रको हत्या गर्ने प्रक्रिया सुरु भएको उनले बताए।
बीपी कोइरालापछि नेपालले कुशल नेता नपाउनु जनताका लागि दुर्भाग्यपूर्ण भएको टिप्पणी उनको छ। उनले भने, ‘शासकले गल्ती गरे तह लाउन नेपाली जनता सक्षम छन्।’ नेताबाट गरिएको परिवर्तनको ठूलो अपेक्षा माटोमा मिलेको कवि मुकारुङ बताउँछन्। ‘नेपाली जनता नेताहरूको असक्षमता र अदूरदर्शिताको सिकार हुनुपरेको छ’, उनी भन्छन्।
अहिलेका शासक पनि बिसे नगर्चीको कविताका पात्रभन्दा फरक नभएको उनको टिप्पणी छ।
उनी अझै पनि नेताहरूलाई सच्चिने समय रहेको बताउँछन्। नेताहरूले १३ वर्षे गणतन्त्र नामको सन्तानलाई लक्काजवान बनाइसक्नुपर्नेमा घाँटी निमोठ्ने काम भइरहेको उनको भनाइ छ। उनी भन्छन्, ‘कोरोना महामारी नभएको भए ओलीविरुद्ध जनता सडकमा आइसकेका हुन्थे। बरु यही मौकामा ओली सुध्रिए जाती हुन्थ्यो।’