नयाँदिल्ली (भारत)- भारतमा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन खोजिएको भन्दै सामाजिक सञ्जाल ट्विटरले आपत्ति जनाएको छ। भारतीय प्रहरी सोधपुछका लागि भन्दै 'ट्विटर भारत'को कार्यालय पुगेपछि ट्विटरले भारत सरकारका क्रियाकलापप्रति आपत्ति प्रकट गरेको हो।
'पछिल्लो घटनाप्रति हाम्रो ध्यानाकर्षण भएको छ। भारतमा रहेका हाम्रा कर्मचारी र हामीले सेवा गर्ने मानिसको अभिव्यक्ति स्वतन्त्रतामाथिको सम्भावित चुनौतीबारे हाम्रो चासो केन्द्रित छ,' ट्विटर प्रवक्ताले बीबीसीसँग भनेका छन्।
भारतीय जनता पार्टी (भाजपा)का प्रवक्ता सम्बित पात्राको एक ट्विटमा 'लेबल' लगाएपछि भारत सरकारले ट्विटरलाई निशाना बनाएको छ। हालै मात्र भाजपाका नेताहरूले एक डकुमेन्टको स्क्रिनसट राखी ट्विट गरेका थिए। उक्त डकुमेन्टमा कोरोना महामारीको नियन्त्रण गर्न सरकार असफल भएको देखाउन प्रमुख प्रतिपक्षी दल कांग्रेसले समस्या सिर्जना गरेको उल्लेख गरिएको थियो।
कांग्रेसले उक्त डकुमेन्टमा कुनै सत्यता नरहेको भन्दै ट्विटरमा कम्प्लेन गरेको थियो। यसपछि पात्राको सोही ट्विटलाई ट्विटरले 'लेबल' लगाइदिएको थियो।
गत फेब्रुअरी महिनामा भारतले सामाजिक सञ्जालमा प्रस्तुत गरिने सामग्री नियमन गर्न नयाँ निर्देशिका जारी गरेको थियो। सो निर्देशिका ल्याएपछि नै भारत सरकार र समाजिक सञ्जाल कम्पनीहरूबीच दूरी बढ्दै गएको हो।
उक्त निर्देशिका सरकार भनेका सामग्री ट्र्याक गर्नुपर्ने र त्यसको रेकर्ड उपलब्ध गराउनुपर्ने उल्लेख छ। यो व्यवस्था लागू गराउनका लागि ट्विटर, फेसबुक र ह्वाटस्एपलगायतलाई तीन महिनाको समय दिइएको थियो।