मेलबर्न- अस्ट्रेलियाको भिक्टोरिया राज्यमा एक साताका लागि लकडाउन गरिएको छ। भिक्टोरियाको राजधानी मेलबर्नसहितका क्षेत्रमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि बिहीबार मध्यरातदेखि लागू हुने गरी लकडाउन गरिएको हो।
मेलबर्नमा पछिल्लो चरणमा २६ जना कोरोना संक्रमित भेटिएको १५० साइटमा सक्रमित हुनसक्ने अस्ट्रेलियाका अधिकारीहरूले अनुमान गरेका छन्। यो राज्यमा गत वर्ष पनि कोरोना भाइरसले ठूलो क्षति पुर्याएको र यस वर्ष दोस्रो लहर सुरु भएकाले नियन्त्रणमा लिन सहज होस् भनेर लकडाउन गरिएको बताइएको छ।
भिक्टोरियाका कार्यवाहक प्रिमियर जेम्स मेर्लिनोले कोरोना भाइरसको भेरियन्ट 'बी.१.६१७' देखिएको बताए। बाहिरबाट भिक्टोरिया फर्किएका एक यात्रीमा यो भेरियन्ट देखिएको र यसको संक्रमण तीव्र भएको मेर्लिनोको भनाइ छ। 'हामीले अझै पनि ढिलो गर्यौँ भने यसलाई नियन्त्रण गर्नबाट हामी टाढा पुगिसेका हुन्छौँ,' प्रमियर मेर्लिनोले भनेका छन्।
लकडाउनका बेला अत्यावश्यक कामबाहेक घरबाट निस्कन पाइनेछैन। यो बेलामा कोभिडविरुद्धको भ्याक्सिन अभियान जारी राखिएकाले भ्याक्सिन लगाउने प्रयोजनका लागि स्वास्थ्य सुरक्षाका मापदण्डसहित जानआउन प्रतिबन्ध लगाइएको छैन।