पछिल्ला दिनमा देशमा कोरोना जित्नेको संख्या बढ्दो छ। कोरोनाको दोस्रो लहरमा मानिसमा अक्सिजन लेवल घट्ने समस्या हुन्छ। जसले गर्दा निकै सास्ति पनि खेप्नु परिरहेको छ। त्यसैले संक्रमितलाई बेला-बेला अक्सिजन लेवल मोनिटर गर्न आग्रह गरिएको छ।
स्वास्थ्यकर्मीले कोरोना संक्रमण केही कम भए पनि जोखिम पहिले जस्तै रहेको बताइरहेका छन्। निषेध आदेश मात्रै खोल्ने हो भने देशमा फेरि अवस्था भयावह हुने छ। त्यसैले स्वास्थ्य सावधानीका सबै मापदण्ड अपनाइराख्नु आवश्यक छ। काम बिना घर बाहिर ननिस्किने र निस्किनै परे मास्क, सेनिटाइजर प्रोग गर्दै सामाजिक दूरी कायम राख्नुपर्छ।
अन्य बिरामीमा जस्तै कोरोना हुँदा पनि खान मन लाग्दैन। जसले शरीरमा कमजोरी पैदा गरिदिन्छ। त्यसैले कमजोरी हुँदा आत्तिनु हुँदैन। ठिक भइसकेपछि पनि पूर्ण रुपमा तन्दुरुस्त हुन समय लाग्नसक्छ। त्यसैले सन्तुलित आहारको सेवन गर्दै बढी भन्दा बढी आराम गर्नुपर्छ।
चिकित्सकका अनुसार कोरोना ठिक भइसकेपछि यदि अक्सिजन लेवल ९४ देखि ९६ को आयो र श्वास फेर्न कुनै समस्या नभए ममा कुनै समस्या छैन ठान्नुपर्छ। यस्तो अवस्थामा पटकपटक अक्सिजन सेचुरेशन जाँच गर्न आवश्यक हुँदैन। तर, मधुमेह, सीओपीडी, अस्थमा जस्ता स्वास्थ्य समस्या भएकाहरूले भने बेला-बेला अक्सिजन सेचुरेशन जाँच गरिराख्नुपर्छ।
कोरोनापछि ज्वरो ठिक भइसकेपछि फेरि पनि ज्वरो आयो भने त्यो कोरोनाकै हो भनेर बुझ्नु हुँदैन। कोरोना ठिक भइसकेपछि पनि मानिसले विभिन्न औषधिको सेवन गरिरहेका हुन्छन्। यस्तो अवस्थामा अनावश्यक औषधि सेवन गर्नुको साटो चिकित्सकलाई देखाउन जनस्वास्थ्य विद्हरूको सुझाव छ।