विराटनगर- चीन सरकारको अनुदानमा ल्याइएका अक्सिजन सिलिन्डर काम नलाग्ने भएका छन्। गत वैशाख २८ गते पहिलो पटक नेपाल ल्याइएका सिलिन्डर अहिले धमाधम ‘रिफिल’ का लागि अक्सिजन उद्योगहरुमा पठाउने गरिएको छ। तर, उद्योगहरुले सिलिन्डर रिफिल नगरी फर्काइदिएका छन्।
चीनबाट ल्याइएका अक्सिजन सिलिन्डरको भल्भ काम नलाग्ने रहेको विनायक अक्सिजन उद्योगका सञ्चालक अमित शारडाले बताए। चिनियाँ सिलिन्डरमा प्रयोग भएको भल्भ चलनचल्तीको नभएको उनले सुनाए। सिलिन्डरमा प्रयोग गरिएको भल्भ फेर्नका लागि पनि तुरुन्त नपाइने अवस्था रहेको उनको भनाइ छ। शारडाले भने, ‘भल्भले काम नगरेपछि सिलिन्डरको काम भएन।’
दैनिक रुपमा चिनियाँ सिलिन्डरहरु रिफिलका लागि आउने गरे पनि भल्भमा समस्या भएका कारण रिफिल नगरी फकाइने गरेको सञ्चालक शारडाले बताए। उनले भने, ‘सिलिन्डर ल्याउनुअघि अक्सिजन उद्योगीहरुसँग सरकारले परामर्श गर्नुपर्ने थियो।’ कोरोना संक्रमितका लागि तत्काल आवश्यक पर्ने अक्सिजन सिलिन्डर प्रयोग हुन नसक्दा समस्या भएको उनले बताए। चिनियाँ सिलिन्डरमा प्रयोग हुने भल्भ नआउँदासम्म प्रयोगमा ल्याउन नसकिने उनको भनाइ छ। उनले भने, ‘अस्पतालहरुले पनि यी सिलिन्ड रिफिल गर्न सक्दैनन्।’
सुनसरीको इटहरीस्थित दुर्गा अक्सिजन उद्योगका सञ्चालक आशिष मित्तलले पनि चिनियाँ सिलिन्डरसँग आएको भल्भ ठिक नभएको बताए। ‘सिलिन्डरमा आएको भल्भ अक्सिजनको नै हैन, त्यो त कार्बनडाइअक्साइडको भल्भ हो,’ उनले भने। रिफिलका लागि मंगलबार बर्दीबासबाट आएको चिनियाँ सिलिन्डर फिर्ता पठाइदिएको उनले बताए। सरकारले सिलिन्डर ल्याउँदा दीर्घकालसम्मका लागि सोचेर ल्याउनुपर्ने उनको सुझाव छ।
सरकारले वैशाख २८ गते चिनियाँ अक्सिजन सिलिन्डर ल्याएपछि धमाधम गैरसरकारी क्षेत्र र व्यवसायीहरुले पनि मगाइरहेका छन्। सरकारले ४०० सिलिन्डर ल्याएलगत्तै एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले १४ सय सिलिन्डर मगाएर वितरण गरेका थियो। ती सिलिन्डर पनि रिफिल नभएपछि समस्या भएको बताइएको छ। संस्थाका एक प्रतिनिधिले भने, ‘सरकारसँग स्पेसिफिकेसन लिएर काम गरियो, अहिले प्रयोेगमा नआउने सुन्दा दुःख लागेको छ। सिलिन्डरहरु अहिले गाउँ–गाउँमा गइरहेका छन्। पहाडी क्षेत्रमा पुगेर पनि प्रयोगमा आएनन् भने झन् समस्या हुन्छ।’
झापाको कनकाई नगरपालिकाले चीनबाट ल्याइएका ९ वटा अक्सिजन सिलिन्डर प्राप्त गरेको छ। कनकाईले अहिलेसम्म चिनियाँ अक्सिजन सिलिन्डर प्रयोगमा ल्याएको छैन। आफूहरुसँग भएकै सिलिन्डरले काम गरिरहेको डा. पवन पोखरेलले जानकारी दिए। उनले भने, ‘आइसोलेसन सेन्टरमा चिनियाँ सिलिन्डर प्रयोगमा ल्याउनु परेको छैन।’ नगरपालिकाले खाली सिलिन्डर नै पाएकाले रिफिलमा समस्या हुनेबारे थाहा नभएको डा. पोखरेलले बताए।
प्रदेश १ मा अहिले अक्सिजनको अभाव छैन। अक्सिजन अभाव नभएकाले चिनियाँ सिलिन्डर प्रयोग खासै गर्नुपरेको छैन। मोरङमा दुई र सुनसरीमा तीनवटा अक्सिजन उद्योग छन्। सबै उद्योगले दैनिक २ हजार ७०० सिलिन्डरभन्दा बढी अक्सिजन उत्पादन गरिरहेका छन्।
प्रदेश १ मा अहिले दैनिक १ हजार ५०० सिलिन्डरसम्म खपत हुने गरेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मोरङमा मारुती र हिमाल तथा सुनसरीमा विनायक, पाथीभरा र दुर्गा उद्योगले अक्सिजन उत्पादन गर्दै आएका छन्।