काठमाडौं– मंगलबार बिहान प्युठान नगरपालिका–१ चेरनेटा नजिक दुई बालबालिका र एक महिलाले झुन्डिएर सामूहिक आत्महत्या गरे। डेढ वर्षका छोरा, ६ वर्षकी छोरीसहित करिब २६ वर्षीया गायत्री सुनारले एउटै रुखमा पासो लगाएर आत्महत्या गरेको अवस्थामा प्रहरीले शव बरामद गर्यो।
उनी घरबाट सोमबार साँझ माइत जान्छु भन्दै छोराछोरी लिएर हिँडेकी रहिछन्। श्रीमान् भारतमा भएको र घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
केही दिनअघि काठमाडौंको बूढानीलकण्ठमा पनि एक पुरुषले आत्महत्या गरे। गाडी चलाउँदै आएका उनी निषेध आदेश जारी भएसँगै ३ हप्तादेखि कोठामै बस्दै आएका थिए। गत शुक्रबार कोठामै झुन्डिएको अवस्थामा प्रहरीले उनको शव बरामद गरेको थियो।
कोरोनाको दोस्रो लहर सुरु भएपछि पछिल्लो एक महिनामा मात्रै देशभर ५९२ जनाले आत्महत्या गरेका छन्। निषेध आदेश लागु भएपछिको १५ दिन (वैशाख १६ देखि ३१ सम्म)मा मात्रै साढे तीन सयभन्दा धेरैले आत्महत्या गरेका छन्।
प्रहरीले दिएको तथ्यांकअनुसार वैशाख महिनामा ३ सय ९८ पुरुष, १ सय ९३ महिला, ४५ बालिका र २६ बालकले आत्महत्या गरेका छन्। जसमध्ये प्रदेश १ मा १ सय ४१, प्रदेश २ मा ८४, बागमती प्रदेशमा ९४, गण्डकी प्रदेशमा ६६, लुम्बिनी प्रदेशमा ९४, कर्णाली प्रदेशमा २०, सुदुरपश्चिम प्रदेशमा ५१ र उपत्यकामा ४२ जनाले आत्महत्या गरेका छन्।
निषेध आदेश लागु भएपछिको १५ दिन (वैशाख १६ देखि ३१ सम्म)मा मात्रै साढे तीन सयभन्दा धेरैले आत्महत्या गरेका छन्।
उपत्यकमा विष खाएर ६ जना र झुन्डिएर ३६ जनाले आतमाहत्या गरेका छन्। प्रदेश–१ मा विष खाएर १३ जनाले, झुन्डिएर १२६ जनाले, हातहतियारको प्रयोग गरेर एक जनाले र डुबेर एक जनाले आत्महत्या गरेका छन्। प्रदेश–२ मा विष खाएर १० जना, झुन्डिएर ७३ जना र आगो लगाएर एक जनाले आत्महत्या गरेका छन्।
बागमती प्रदेशमा विष खाएर १२ जना, झुन्डिएर ८१ जना र आगो लगाएर एक जनाले आत्महत्या गरेका छन्। गण्डकीमा विष खाएर ९ जना, झुन्डिएर ५५ जना, हामफालेर एक जना र हतियारको प्रयोग गरेर एक जनाले आत्महत्या गरेका छन्।
लुम्बिनी प्रदेशमा विष खाएर १७ जना, झुन्डिएर ७४ जना, हामफालेर २ जना र हतियार प्रयोग गरेर एक जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ।
कर्णाली प्रदेशमा विष खाएर ४ जना, झुन्डिएर १६ जनाले आत्महत्या गरेका छन् भने सुदूरपश्चिम प्रदेशमा विष खाएर १४ जना, झुन्डिएर २५ जना र हामफालेर एक जनाले आत्महत्या गरेका छन्।
२०७५/०७६ को तुलनामा २०७७/०७८ मा आत्महत्याको दर बढ्नुलाई मनोविद्हरू पनि रोगको त्रास र त्यससँगै लागेको लकडाउनलाई कारक मान्छन्।
यो वर्षको वैशाखमा भएको आत्महत्या अघिल्लो वर्षको वैशाखमा भन्दा १४ जना बढी हो। अघिल्लो वर्ष ०७७ वैशाखमा ५ सय ७८ जनाले आत्महत्या गरेका थिए। अघिल्लो वर्ष वैशाखमा पनि मुलुक लकडाउनमा थियो। यद्यपि, कोरोना महामारी र लकडाउन नभएको २०७६/२०७५ वैशाखमा करिब ५ सय जनाले आत्महत्या गरेका थिए।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता वसन्त कुवँर आत्महत्या बढ्नुको यकिन कारण भन्न नसकिए पनि लकडाउन एउटा प्रमुख कारण हुनसक्ने बताउँछन्। कुवँर भन्छन्, ‘लकडाउनमा आर्थिक जटिलता, पारिवारिक कलहजस्ता थुप्रै समस्या बढेको देखिएको छ। सोही कारण व्यक्तिलाई आत्महत्यातर्फ धकेल्ने गरेको पाइएको छ।’
२०७५/०७६ को तुलनामा २०७७/०७८ मा आत्महत्याको दर बढ्नुलाई मनोविद्हरू पनि रोगको त्रास र त्यससँगै लागेको लकडाउनलाई कारक मान्छन्। मनोविद् रितेश थापाका अनुसार लकडाउनका कारण पेशा–व्यवसाय बन्द हुँदा आर्थिक संकट पर्ने, पारिवारिक कलह मच्चिने र नैराश्यता बढ्ने जस्ता समस्या धेरै बढ्ने भएकाले व्यक्तिले आत्महत्याको बाटो रोज्ने गरेको पाइएको छ।
उनी भन्छन्, ‘कोरोनाले बाँच्न नदिने भयो, सबै डुब्यो, बर्बाद भयो भन्ने जस्ता भावले निराशा बढाउँदै लग्दा पछिल्लो समय आत्महत्या बढेको देखिएको छ। लामो समय आइलोलेसनमा बस्दा आउने नकारात्मक सोचाइ, एक्लोपनले व्यक्तिलाई डिप्रेसनमा लग्ने गरेको पाइएको छ।’