काठमाडौं– शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले २०७७ सालको कक्षा १० को अन्तिम परीक्षा (एसईई) भौतिक रुपमा सञ्चालन हुने सम्भावना न्यून रहेको बताएका छन्। एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले सोमबार पेस गरेको ज्ञापनपत्र बुझ्दै शिक्षामन्त्री श्रेष्ठले २०७७ सालको एसईई भौतिक रुपमा सञ्चालन गर्ने सम्भावना न्यून रहेको स्पष्ट पारेका हुन्।
उनले परीक्षाका सन्दर्भमा विभिन्न विकल्पका बारेमा छलफल भइरहेको बताए। उनले भने, ‘ राष्ट्रिय परीक्षा बोर्डले शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालको संयोजकत्वमा गठित समितिले दिएको प्रतिवेदनका आधारमा परीक्षाको मोडालिटीबारे निणर्य हुन्छ।’
उनले सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेटमा शिक्षाको बजेट बढ्ने पनि बताए। मन्त्री श्रेष्ठले विश्वविद्यालयका स्थगित परीक्षा सञ्चालन गर्ने, अनलाइनमा कक्षा लिएबापतको शुल्क घटाउनुपर्ने, सबै सामुदायिक विद्यालयमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने विषयमा सम्बन्धित निकायसँग छलफल भएको पनि बताएका छन्।