काठमाडौं– टोकियो ओलम्पिक २०२० को फुटबल अन्तर्गत मंगलबार सम्पन्न सेमिफाइनल खेलबाट ब्राजिल र स्पेन फाइनलमा पुगेका छन्। भर्खरै सम्पन्न दोस्रो सेमिफाइनल खेलमा स्पेनले घरेलु टिम जापानलाई हराउँदै फाइनलमा ब्राजिलसँगको भेट पक्का गरेको हो।
स्पेनका असेन्सियोले अतिरिक्त समयको ११५औं मिनेटमा गोल गर्दै स्पेनलाई १-० गोलको जित दिलाएका हुन्।
त्यसअघि सम्पन्न पहिलो सेमिफाइनल खेलमा जित निकाल्दै ब्राजिल फाइनलमा पुगेको थियो। मंगलबार सम्पन्न पहिलो सेमिफाइनल खेलको निर्धारित समय गोलरहित बराबरी भएपछि पेनाल्टी सुटआउटमा ब्राजिलले मेक्सिकोलाई ४–१ गोलले हराएको थियो।
पेनाल्टीबाट ब्राजिललाई जित दिलाउन कप्तान ड्यानी अल्वेस, मार्टिनेली सिल्वा, गुइमारेस मोउरा र रिइनरले गोल गरेका थिए।
यता, मेक्सिकोका लागि कार्लोस रोड्रिग्वेजले मात्र गोल गर्न सकेका थिए। त्यसअघिका बाँकी दुई खेलाडीले गोल गर्न नसकेपछि ब्राजिलले ४–१ गोलको जित निकालेको हो। फाइनल खेल अगस्ट ७ मा हुनेछ।
यता, महिलातर्फको खेलको फाइनलमा भने स्विडेनले क्यानडाको सामना गर्नेछ। ब्राजिल लगातार तेस्रो पटक ओलम्पिक प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। सन् २०१२ को लन्डन ओलम्पिकमा ब्राजिल मेक्सिकोसँग पराजित हुँदै उपविजेतामा चित्त बुझाएको थियो। २०१६ को रियो ओलम्पिकमा जर्मनीलाई हराउँदै ब्राजित ओलम्पिक विजेता बनेको थियो।
पराजित मेक्सिको र जापानले कास्य पदकका लागि अगस्त ६ मा खेल्नेछन्।