काठमाडौं – इटालियन सिरी ए मा शीर्ष चारको लागि संघर्षरत युभेन्टसले कोपा इटालियाको उपाधि बुधबार राति जितेको छ।
युभेन्टसले फाइनलमा एटलान्टालाई २–१ गोलले हराउँदै उपाधि रक्षा गरेको हो।
युभेन्टसको जितका लागि डेजन कुलुसेभ्स्की र फेडेरिको चिइसाले गोल गरेका थिए।
खेलको ३१औं मिनेटमा कुलुसेभ्स्कीले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए। तर, पहिलो हाफको ४१औं मिनेटमै एटलान्टाका रुस्लान मलिनोभ्स्कील गोल गरेर खेललाई बराबरीमा ल्याए।
यससँगै पहिलो हाफ १–१ गोलको बराबरीमा रह्यो। अधिक समय बलमा नियन्त्रण बनाए पनि एटलान्टाले थप गोल गर्न सकेन्। बरु कुलुसेभ्स्कीको पासलाई सदुपयोग गर्दै चिइसाले खेलको ७३ औं मिनेटमा अर्को गोल गरे।
एक गालले पछि रहेको अवस्थामा एटलान्टाका राफेल टोइर्टो रातो कार्ड खाँदै मैदान बाहिरिएपछि अन्तिमको दुई मिनेट र इन्ज्युरी सयम एटलान्टा १० खेलाडीमा सीमित बनेको थियो।
यो उपाधि युभेन्टसले १४औं पटक जितेको हो। युभेन्टस कोपा इटालिया जित्दै युरोपा कपमा क्वालिफाइसमेत भएको छ।
केपा इटालिया रोमाले ९, इन्टर मिलानले र लाजियोले समान ७ पटक उपाधि जितेका छन्। एटलान्टाले १९६३ मा कोपा इटालियाको उपाधि जितेको थियो।