काठमाडौं - बुधबार राति सम्पन्न फ्रेन्च कप फाइनल खेलमा मोनाकोलाई हराउँदै पेरिस सेन्ट जर्मेन पीएसजीले उपाधि जितेको छ।
स्टेट डि फ्रान्स रंगशालामा सम्पन्न फाइनल खेलमा पीएसजीले मोनाकोलाई २–० गोलअन्तरले हराएको हो।
पीएसजीको जितका लागि पहिलो हाफमा माउरो इकार्डी र दोस्रो हाफमा केलियन एम्बप्पेले गोल गरेका थिए।
खेलको १९औं मिनेटमा मोनोकोका सेन्ट्रल डिफेन्सले गोल रक्षा गर्न चुकेपछि एम्बाप्पेले गरेको क्रसमा इकार्डीले गोल गरेका थिए। यो गोलसँगै खेललाई नियन्त्रण गरेका पीएसजीले ५६ प्रतिशत पोसेसन राखेको थियो।
खेल अवधिभर सात प्रहार गरेको पीएसजीको ८१औं मिनेटको प्रहार पनि सफल भएको थियो। त्यो घडिमा डि मारियाले दिएको बललाई एम्बाप्पेले पोस्ट चुमाएका थिए। भीएआरमा पनि अफसाइड नदेखिएपछि रेफ्रीले गोललाई मान्यता दिए।
यससँगै पीएसजीले १४औं पटक फ्रेन्च कपको उपाधि जितेको छ। फ्रान्सको प्रतिष्ठित कप पीएसजीपछि सर्वाधिक विजेता मार्सेल्ली बनेको छ। एसले १० पटक जितेको छ भने सेन्ट इटिएन र लिल्लले समान ६ पटक जितेका छन्।