काठमाडौं- जेठको चर्को घाम, त्यसमाथि पीपीई लगाएर आगोको मुस्लोसँग जुध्नुपर्ने। कोरोना संक्रमणबाट ज्यान गुमाएकाहरुको दाहसंस्कार गर्दै आएका २३ वर्षीय पूर्ण कार्की दैनिक करिब १२ घण्टा यसैगरी खटिन्छन् पशुपति आर्यघाटमा।
कोरोनाबाट ज्यान गुमाएकाको मात्रै हरेक दिन सयभन्दा धेरै शव आउँछ। ती शवको व्यस्थापन गर्ने काममा उनी असिनपसिन भएर लागिरहेका छन्। ‘घामपानी भन्न पाइएको छैन। कहिले त खाना पनि खान पाइँदैन। शवको यस्तो चाप छ, कहिले खान पनि मन लाग्दैन। के गर्नु ? समयकाल यस्तै छ,’ उनले आफ्नो व्यथाको पोको खोले।
संक्रमितको दाहसंस्कारमा खटिने उनलाई सुरुसुरुमा खाना खानसमेत मन लाग्दैनथ्यो। कहिलेकाहीँ त कामै छोडेर भागौँ पनि भएको रहेछ। ‘कोरोना हामीलाई पनि सर्ने हो कि भन्ने डर लाग्थ्यो। तर भागेर कहाँ जाने? कहाँ छैन र कोरोना ?’ अहिले भने बानी परेको बताउँदै उनले सुरुका दिन सम्झिए। अहिले भने उनकाे बुझाइ फेरिएकाे छ। 'जिम्मेवारीबाट भाग्नु हुँदैन, अझै यो महामारीमा जिम्मेवारीबाट पन्छिने छुट कसैसँग छैन,’ उनी भन्छन्।
हामीसँग कुरा गर्नुअघि उनी भर्खरै शव जलाएर आएका थिए। मध्याह्न करिब १२ बजेको थियो। पसिनाले निथ्रुक्कै भिजेका थिए। हामीले सोध्यौँ, ‘यस्तो घाम, आगोको राप अनि पीपीई! कसरी काम गरिरहनुभएको छ? २३ वर्षका कार्कीले गहिरो जवाफ दिए– ‘पोल्यो, गाह्रो भयो भन्न कहाँ पाइएको छ र? हामीले त्यसो भन्यौँ भने त यी शव कसले जलाउँछ?’
उनले थपे, ‘घर पुगेर पीपीई फुकाल्दा पसिनाले पूरै शरीर भिजेको हुन्छ। शरीर नै बाफिएर सेतो भएको हुन्छ। तर पनि कामबाट भाग्न मिल्दैन। के गर्नु यस्तै छ परिस्थिति।’ बिहान ९ बजेदेखि बेलुका करिब १२ बजेसम्म शव जलाउँदा उनलाई आफू पनि संक्रमित भइने हो कि भन्ने चिन्ताले पिरोलिरहन्छ। ‘सामान्य खोकी लाग्यो भने पनि कोरोना भएको हो कि भनेर डर लाग्छ,’ उनले भने।
उनलाई एक मनले देशमा यस्तो परिस्थिति आउँदा केही गरेँ जस्तो लाग्दो रहेछ अनि अर्को मनमा चाहिँ दैनिक यसरी शव आउँदा आफ्नो पनि यस्तै अवस्था हुने हो कि भनेर विरक्तिले घेर्दाे रहेछ। शव आउने क्रम घटे हुन्थ्यो भनेर प्रार्थना गर्ने गरेको सुनाउँदै उनले भने, ‘दैनिक यसैगरी शव आउने हो भने त सम्हाल्नै गाह्रो पर्छ। सधैँ यसरी काम गर्न कहाँ सकिएला र।’
काठमाडौंका ४५ वर्षीय लक्ष्मण केसीको अनुभव पनि उस्तै छ। २५ वर्षदेखि पशुपति आर्यघाटमा शव जलाउँदै आएका केसीले शवको यति ठूलो संख्या कहिल्यै देखेका थिएनन्। २०४५ सालमा दशरथ रंगशालामा भागदौड मच्चिँदा र २०७२ सालको भूकम्पका बेला शवको ताँती लागेको थियो। तर, एक दिनमात्रै। अहिले त हरेक दिन उस्तै छ। ‘दिनहुँ सयभन्दा धेरै शवकाे अन्त्येष्टि गर्नुपर्छ। कहिलेकाहीँ त अत्यास लाग्छ। आफैं संक्रमित भइने हो कि भनेर डर लाग्छ,’ उनले भने।
तातो घाममा पीपीई लगाएर आगोको रापमा दिनरात चिता अगाडि बस्दाको पीडा उनी शब्दमा वर्णन गर्न सक्दैनन्। ‘शवको ताँती देख्दा, नौजवान युवा र बच्चाको शव आउँदा मन कटक्क खान्छ। मृतकका आफन्तको चित्कार सुनेपछि आफ्नो पीडा सानो लाग्छ,’ उनले आर्यघाटको व्यथा पोखे। केसीकाे अनुराेध छ, ‘पशुपति आर्यघाटमा देखेको शवले मन आतिन थालेको छ। अति आवश्यक काम नपरी बाहिर ननिस्किनुस्, अवस्था सामान्य छैन।'
पशुपति आर्यघाटमा गएकाे सोमबार एकैदिन ११२ वटा शव आएको थियो। नेपाली सेनाको टोलीले अस्पतालबाट शव संकलन गरेर आर्यघाटसम्म ल्याएपछि चितामा लगेर जलाउने काम पशुपति विकास कोषका कर्मचारीहरुले गर्ने गरेका छन्।
घाट व्यवस्थापन प्रमुख सुवास कार्कीका अनुसार आर्यघाटमा अहिले शव व्यस्थापन गर्न ३५ कर्मचारी छन्। जसमा ३० जनाले शव जलाउने काम गर्छन् भने अन्य ५ जना त्यहाँको व्यवस्थापनमा खटिएका छन्। हाल आएका शवमध्ये आधाजसाे विद्युतीय शवदाह गृहमा जलाइने गरेको छ भने आधा बागमती किनारको खुला चितामा। अहिलेकै गतिमा शव आउने क्रम बढे धान्न धौधौ पर्ने उनको भनाइ छ।