शुक्रसागर श्रेष्ठ रामग्राम उत्खनन्, मुस्ताङ कालीगण्डकी क्षेत्रको मानव गुफा अन्वेषण र धादिङ सल्यानटारको अध्येता हुन्। कीर्तिपुर सहरको अन्वेषण तथा काठमाडौं उपत्यकाका कला तथा वास्तुकला ज्ञाता थिए उनी। मुस्ताङ गुफाको उत्खनन्मा श्रेष्ठ जर्मन टोलीसँग सहभागी थिए भने श्रेष्ठकै नेतृत्वमा रामग्राम उत्खनन भएको थियो। गौतम बुद्धको मावली विवादकाे निरुपण पनि श्रेष्ठबाटै भएकाे हाे।
‘पुरातत्त्वविद् बाबुकृष्ण रिजालले नवलपरासीको दक्षिण झरही नदीको किनारमा रहेको थुम्कोलाई बुद्धको मावली रामग्राम भएको बताए पनि त्यसलाई प्रमाणित गर्ने काम शुक्रसागर श्रेष्ठले नै गरेका हुन्,’ श्रेष्ठका सहपाठीसमेत रहेका प्राध्यापक जगमान गुरुङ भन्छन्। शुक्रसागर संस्कृत, प्राचीन लिपि, कला र वास्तुकलाका ज्ञाता थिए। गुरुङ भन्छन्, ‘नेपालमा उनकै दाँजोका अर्का विज्ञ पाउन मुस्किल छ। संस्कृत, प्राचीन लिपि, कला र वास्तुकलाका क्षेत्रमा उनीजस्ता हस्ती जन्मन गाह्रो छ।’
पुरातत्त्व विभागका अपवाद
इतिहासकार महेशराज पन्त शुक्रसागर श्रेष्ठलाई पुरातत्त्व विभागमा भएका एक ‘अपवाद व्यक्तित्व’ का रूपमा स्मरण गर्छन्। ‘उनी पुरातत्त्व विभागमा भएका एक ‘अवपाद प्रबुद्ध’ थिए,’ पन्त भन्छन्, ‘उनले गरेका केही अन्वेषण साँच्चै प्रशंसालायक छ। अन्वेशष र आफ्नो अनुभूति मिश्रित उनी लिखित ‘नेपालको ममीभूत’ लेखले पनि सो कुरा पुष्टि हुन्छ।’
पन्त शुक्रसागरका केही लेख भने भावावेशमा लेखिएका र तथ्यभन्दा पर रहेको बताउँछन्। कीर्तिपुरमा नाक काटिएको प्रसंग तथा पछिल्लो समय उनी लिखित हमला तथा कामकला बारेको लेख भने प्राज्ञिक तहको नभएको पन्तको ठम्याइ छ। ‘मैले यसबारे खण्डन प्रकाशित गरिसकेको छु,’ पन्त भन्छन्।
कनुै बेलाका श्रेष्ठका सहकर्मी त्रिवि संस्कृति विभागका प्रमुख प्राध्यापक मदनकुमार रिमालका अनुसार श्रेष्ठ ‘पक्का पुरातत्त्वविद्’ हुन्। ‘आफूले खोजेका विषयमा गम्भीर अध्ययन गर्ने र कुरोको चुरोसम्म पुग्न चाहिने धैर्य र मिहिनेत गर्ने प्रवृत्ति शुक्रसागरमा थियो। उहाँले कहिल्यै सतही कुरा र काम गर्नुभएन,’ रिमाल सम्झन्छन्।
रिमाल श्रेष्ठलाई ‘एक्ला वृहस्पतीझैं भीडभाड र सतही चियोचर्चाबाट टाढा रहने’ तथा ‘अध्ययनशील अन्वेषक’ का रूपमा चिन्न सकिने बताउँछन्। दिवंगत भइसकेका त्रिवि संस्कृति विभागका पूर्वप्रमुख एवं प्राध्यापक मुकुन्दराज अर्यालले श्रेष्ठबारे भनेका थिए, ‘मैले ७४ वर्षको उमेरसम्ममा देखेका अतिकम इमानदार र निष्ठावान् मान्छेमध्येका एक हुन्, शुक्रसागर।’
सादगी जीवन
श्रेष्ठ केही समय पुरातत्त्व विभागको कामु निर्देशक भए। त्यति बेला पनि उनले सरकारी सुविधाको गाडी प्रयोग गरेनन्। आफ्नै साइकलमा कीर्तिपुर–सिंहदरबार ओहोरदोहोर गर्थे। उनी भन्थे रे– ‘अब केही समयमै अवकाश लिन्छु। त्यति बेला यो गाडी पाइने होइन। बेकारमा किन बानी बिगार्नु आफ्नै साइकल छँदै छ नि!’
पद पाउन मरिहत्ते गर्ने व्यक्ति धेरै हुन्छन्। आफूले काम गरेको संस्थाको उच्च तहमा पुगेर संस्था हाँक्ने हुटहुटी धेरैलाई हुन्छ। तर त्यो मामिलामा श्रेष्ठ अपवाद रहे। श्रेष्ठले पुरातत्त्व विभागको निर्देशक हुने बेलामा स्वेच्छिक अवकाश लिएका थिए। उनलाई मन्त्रालय र सचिवसँगको कागजी रस्साकस्सीमा पर्नु थिएन। खोजअनुसन्धानमाम केन्द्रित हुनु थियो।
सरकारी सेवाबाट अवकाश पाएपछि उनी खोज–अनुसन्धानमा सक्रिय भए। ‘अवकाशपछि पनि विभागका लागि धेरै काम गर्नुभएको थियो,’ पुरातत्त्व विभागका पूर्वमहानिर्देशक भेषनारायण दाहालले स्मरण गर्छन्, ‘उहाँ ब्राह्मी, लिच्छविकालीन र मल्लकालीन लिपिका ज्ञाता हुनुहुन्थ्यो।’
श्रेष्ठ उत्खनन्का काममा फिल्डैमा उत्रेर ज्यामीझैं घोटिने गर्थे। ‘काम गर्दा टोलीको एक सदस्यका रुपमा आफू पनि फिल्डमा भिडेर काम गर्ने उहाँको बानी थियो,’ विभागका फोेटोग्राफर सुनिल डंगोल भन्छन्। ‘उहाँले कहिल्यै पनि विभेद र दूरी राख्नु भएन,’ डंगोल स्मरण गर्छन्, ‘जुनियर स्टाफलाई पनि काम सिकाउने, प्रोत्साहन गर्नुहुन्थ्यो।’
विभागअन्तर्गतको हुनमानढोका दरबार संग्रहालय तथा हेरचाह अड्डाका प्रमुख सन्दीप खनाल श्रेष्ठलाई पुरातत्त्व अध्ययनका एक धरोहर मान्छन्। ‘नवलपरासीको चुरे क्षेत्रको जंगलमा प्रागैतिहासिक मानव अस्तित्वको अध्ययन गर्ने क्रममा उहाँसँग पुरातत्त्वबारे धेरै कुरा जान्न सिक्न पाइएको थियो,’ खनाल भन्छन्, ‘उहाँ पुरातत्त्व अध्ययनका एक धरोहर हुनुहुन्थ्यो। उहाँको अभाव ऐतिहासिक अनुसन्धानका लागि अपूरणीय क्षति हो।’
फोटोग्राफर शुक्रसागर
‘रिल फोटोको जमानामा आफूले खिचेको फोटो आफैं बनाउने उहाँ राम्रो फोटोग्राफर र डेभलपर पनि हुनुहुन्थ्यो,’ फोटोग्राफर दीपेन्द्र वज्राचार्यको भनाइ छ।
शुक्रसागर हिमालका पनि ज्ञाता थिए। ‘उहाँ हिमालको टुप्पो देखेरै त्यसको नाम भन्नुहुन्थ्थ्यो। कीर्तिपुरको डाँडाबाट सगरमाथा देखिन्छ भनेर देखाइदिने पनि गर्नुहुन्थ्यो,’ वज्राचार्य भन्छन्, ‘उहाँले ककनी, चन्द्रागिरि, चोभार र नगरकोटबाट देखिएको हिमालको तस्बिरमाथि स्केच कोरेर हिमालयन प्रोफाइल तयार गरी प्रकाशित गर्नुभएको थियो।’
श्रेष्ठका प्रकाशित कृति
हनुमानढोका दरबार क्षेत्र, कीर्तिपुर सहरको विस्तृत अन्वेषण तथा धेरै ऐतिहासिक सहरको कला तथा वास्तुकलाको अध्ययन गरेका श्रेष्ठका प्रकाशित पुस्तकमध्ये केही ‘कीर्तिपुरको सांस्कृतिक र पुरातात्त्विक इतिहास’, विदेशी लेखकसँगको सहलेखनमा श्रेष्ठको ‘स्ट्रिट स्राइन अफ कीर्तिपुर’ (कीर्तिपुरका बाटाका मन्दिर), ‘जरुँहिटी’ (ढुंगेधारा) छन्।
जीवनको उत्तरार्धमा उनी काठमाडौंका मन्दिरका टुँडालमा कुँदिएका ‘काम कला’ बारे अध्ययनमा लागिपरेका थिए। ‘भारतवर्षका वात्सायनको समयभन्दा पुराना कामकलाका मूर्ति भेटिएको उनले बताएका थिए,’ वज्राचार्यले भन्छन्।
उनका अप्रकाशित कृतिमा ‘माउन्ट एभरेस्ट’ एक हो। पुरातत्त्व विषयको जर्नल ‘प्राचीन नेपाल’ का सम्पादक श्रेष्ठका कयौं अनुसन्धानमूलक लेखसमेत प्रकाशित छन्।
सुगर लागेपछि बेकर
उनी प्रायः बिहान चियानास्ता गरेर पुरातात्त्विक स्थान तथा वस्तुको खोजीमा लागेपछि घर आउने टुंगो हुँदैनथ्यो। मधुमेह देखिएपछि श्रेष्ठ खानपिन र स्वास्थ्यप्रति सचेत थिए। पछि उनले आफैं पाउरोटी, कुकिज बनाउन सिके। उनका सहकर्मी अझै पनि खोजस्थलमा उनले ल्याएको कुकिज र पाउरोटी खाएको स्मरण गर्छन्।
निधनअघि उनलाई मधुमेह, क्रोनिक ग्यास्ट्रिक र कलोजोको समस्याले च्याप्दै लगेको थियो। पुरातत्वविद् श्रेष्ठको निधन ६५ वर्षको उमेरमा २०७४ जेठ ४ गते भएको थियो।