एजेन्सी- इजरायली सेनाले प्यालेस्टाइनी हमास विद्रोहीको नियन्त्रणमा रहेको गाजा पट्टीमा निरन्तर आक्रमण गरिरहेको छ। झण्डै एक हप्ताको यो युद्धमा गाजामा ठूलो क्षति भएको बताइएको छ।
सोमबार बिहान इजरायली सेनाले हमासका शीर्ष नेताहरु लुक्ने गरेको भनिएको गाजाको कथित सुरुङ नष्ट गरेको बताएको छ। इजरायली सेनाले १५ किलोमिटर लामो सुरुङ र हमास विद्रोहीका ९ जना कथित कमाण्डर बस्ने भवन नष्ट गरिएको बताएको छ। यद्यपि इजरायली सेनाले गाजामा सर्वसाधारणका घरमाथि समेत रकेट आक्रमण गरिरहेको बताउने गरिन्छ।
अलजजीरा, एपीलगायतका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको कार्यालय रहेको टावर पनि इजरायली सेनाले हवाइ आक्रमण गरी ध्वस्त बनाएको छ।
अलजजीराका अनुसार जारी युद्धमा हालसम्म गाजापट्टीमा १९२ जनाको मृत्यु भइसकेको छ। जसमध्ये ५८ बालबालिका छन्। १ हजार २३५ जना घाइते भएका छन्।
झण्डै ४० हजार मानिस घर छोडेर शरणको खोजीमा निस्किएका छन्। घना वस्ती रहेको गाजामा इजरायली सेनाले गरेको निरन्तरको बम वर्षामा ५०० भन्दा बढी घर नष्ट भइसकेका छन्।
हमासले गरेको आक्रमणमा इजरायलमा अहिलेसम्म १० जनाको मृत्यु भएको छ। जसमा २ बालबालिकाछन्। ५६४ जना घाइते भएका छन्।
यस्तै प्यालेस्टाइनको नियन्त्रणमा रहेको वेस्ट ब्यांकमा अहिलेसम्म १७ जनाको मृत्यु भएको छ। साढे ४ हजार मानिस घाइते भएका छन्। त्यहाँ एक बच्चाको मृत्यु भएको जनाइएको छ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले तत्काल यस क्षेत्रमा शान्ति स्थापना नहुने र इजरायलले कारबाही नरोक्ने प्रतिक्रिया दिएपछि सोमबार बिहानैदेखि इजरायली सेनाले आक्रमण झन तीव्र पारेको छ। आइतबार पनि इजरायली सेनाले दिनभरजसो आक्रमण गरेको थियो। आइतबारमात्रै त्यहाँ ४२ जना मारिएका छन्। प्यालेस्टाइनले यो दिनलाई अहिलेसम्मकै ‘रक्तपातपूर्ण दिन’ भनेको छ।