काठमाडौं– नेपाल शिक्षक महासंघले दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। जेठ ५ गतेदेखि सञ्चालन हुने गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको महासचिव लक्ष्मीकिशोर सुवेदी र सहअध्यक्ष पूर्णप्रसाद दवाडीले विज्ञप्ति प्रकाशित गरी जानकारी दिएका हुन्।
आन्दोलनका कार्यक्रमअन्तर्गत शिक्षक तथा विद्यालय कर्मचारीलाई अविलम्ब कोभिडविरुद्धको खोप लगाउन र बालकक्षाका शिक्षक र विद्यालय कर्मचारीको तलब वृद्धि गर्न माग गर्दै शिक्षामन्त्री र अर्थमन्त्रीलाई एसएमएस पठाइने भएको छ।
यस्ता छन् आन्दोलनका कार्यक्रम
जेठ ५ गते ः महासंघले अघि सारेका माग तथा समसामयिक विषयमा प्रधानमन्त्री, सभामुख , शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री र अर्थमन्त्रीको ध्यानाकर्षणका लागि खुला पत्र पठाउने/बुझाउने। सो खुलापत्र हरेक शिक्षक/कर्मचारीले आफ्नो फेसबुक वालमा सेयर गर्ने।
७ गते : हरेक शिक्षक तथा कर्मचारीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री र अर्थमन्त्रीको मोबाइल नम्बरमा निम्न २ वटा नारा भएको टेक्स्ट मेसेज पठाउने।
क. शिक्षक तथा विद्यालय कर्मचारीलाई अविलम्ब कोभिडविरुद्धको खोप दिइयोस्।
ख. बालकक्षाका शिक्षक र विद्यालय कर्मचारीको तलब वृद्धि गरियोस्।
९ गते : संसदमा प्रतिनिधित्व गर्ने राजनैतिक पार्टीका संसदीय दलका सचेतक तथा महासंघबीच महासंघबाट पेस भएका माग र समसामयिक विषयमा अनलाइन अन्तरक्रिया तथा छलफल गर्ने।
११ गते : हरेक शिक्षक तथा कर्मचारीले केन्द्रबाट बनाएको कालो स्टिकरमा राखिएका ६ वटा हाइलाइटेड माग लेखी छातीमा टाँस्ने र टाउकोमा कालोपट्टीसमेत बाँधेर फोटो खिच्ने। उक्त फोटो आफ्नो फेसबुक वालमा पोस्ट गर्ने।
१३ गते : हरेक शिक्षक तथा कर्मचारीले महासंघले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीसमक्ष पेस गरेको विरोधपत्र, मागपत्र र सम्झौतापत्रका छाया प्रति आफू रहेको निर्वाचन क्षेत्रभित्रका संघीय तथा प्रदेश सभाका सांसदहरुको इमेल तथा फेसबुकको म्यासेज बक्समा पठाउने।
१८ गते : तेस्रो चरणको कार्यक्रम सार्वजनिक गरिने।
