काठमाडौं - इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत शुक्रबार रातिको खेलमा म्यानचेस्टर सिटीले जित निकालेको छ।
न्युकासलको घरेलु मैदानमा सम्पन्न खेलमा पाहुना टिम सिटीले घरेलु टिममाथि ४–३ गोल अन्तरको जित निकालेको हो। सिटीको जितमा फरान टोरेसले ह्याट्रिक गरेका थिए।
खेलको ६१ औैं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्न नसक्दा न्युकासलले गोलको अवसर गुमायो तर त्यही मिनेटमा जोय विलोकले सानदार गोल गरेका थिए।
त्यसअघि खेलको पहिलो हाफमा पनि इमिल कर्थले २५ औं मिनेटमा गोल गर्दै न्युकासललाई अग्रता दिलाएका थिए। तर, जोआ क्यानसेलोले खेलको ३९ औं मिनेटमा गोल गर्दै खेललाई बराबरी गरिहाले।
साथै ४२ औं मिनेटमा फरान टोरेसले गोल गरेपछि त सिटीले अग्रता नै बानायो। तर सिटीको अग्रता लामो समय टिकेन। न्युकासलका जेइलिन्टनले पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए।
खेलको ६४ औं र ६६ औं मिनेटमा थप दुई गोल गर्दै टोरेसले ह्याट्रियक गरेपछि सिटीले खेलको ४–३ गोलको अग्रता निश्चित गर्याे। त्यसपछि गोल सम्भव नहुँदा उसले खेलमा जित निकालेको हो।
यो जितसँगै प्रिमियर लिगको उपाधि जितिसकेको सिटीको ८३ अंक छ। न्युकासल भने ३९ अंकका साथ १६ औं स्थानमा छ।