शुक्रबार मध्याह्न १२ बजेतिर राष्ट्रिय ट्रमा सेन्टर बाहिर अँध्यारो अनुहार लगाएर बसेका थिए चोभारका नन्दकुमार महर्जन। शव वाहनको पर्खाइमा थिए उनी। उनका काकाको बिहान ९ बजे कोभिडका कारण ट्रमा सेन्टरमा मृत्यु भएको रहेछ।
अस्पतालमा थेगिनसक्नुको चाप छ संक्रमितको। महर्जनका काका तीन दिनअघि त्यही चापमा मिसिँदै ट्रमा सेन्टरमा आएका रहेछन्। बल्लतल्ल बेड त पाए, तर उनलाई खाँचो थियो भेन्टिलेटरको, जुन उनले पाएनन्। ‘भेटिन्लेटर पाएको भए सायद बाँच्नुहुन्थ्यो होला। उमेर ७० भए पनि अरु स्वास्थ्य समस्या थिएन। हिजो दिउँसोसम्म बोलिरहनु भएको थियो,’ भतिज नन्दकुमारले सुनाए।
काकाले भेन्टिलेटर नपाएकै कारण ज्यान गुमाउनु परेकोमा महर्जनको जति गुनासो छ, त्यतिकै गुनासो मृत्युपछि काकाको मुख पनि हेर्न नदिइएकोमा छ। संक्रमित काकाको रेखदेखका लागि उनी आफैँ खटिएका रहेछन्। मृत्युको अन्तिम अघिसम्म पनि काकासँगै रहेको सुनाउँदै महर्जनले भने, ‘जीवित हुँदासम्म अस्पतालका कर्मचारीले सँगै बस्न दिए। मृत्युपछि अनुहारसम्म हेर्न दिएनन्। जीवित हुँदासम्म स्याहार गर्दा कोरोना नसर्ने, मृत्युपछि अनुहार हेर्दा पनि कोरोना सर्ने? यो कस्तो कुतर्क हो?’
काकाको मृत्युपछि सेनाको शव वाहन कुरेर बसेका महर्जनलाई पटक–पटक आग्रह गर्दा पनि कसैले काकाको मुख हेर्न दिएनन्।
ट्रमा सेन्टरमै रहेका अर्का एक जनाले पनि संक्रमितको स्याहार गर्न दिने तर मृत्युपछि अनुहार पनि हेर्न नदिने सरकारी नीतिप्रति असन्तुष्टि पोखे। उनका हजुरबुबाको बिहीबार राति ट्रमा सेन्टरमै मृत्यु भएको रहेछ। उनले भने, ‘हजुरबुबाको रेखदेखमा म आफैँ खटिएको थिएँ। तर, मृत्यु भएपछि मलाई नै अनुहारसम्म हेर्न दिएनन्। अस्पताल बाहिर निकालेर शव वाहन कुर्न भने।’
अस्पताल प्रशासन भने सरकारी नीति नै यस्तो भएको भन्दै पन्छियो। बिरामीको संख्या अधिक भएका कारण स्वास्थ्यकर्मीले मात्रै नभ्याउने भएकाले आफन्तलाई पनि सुरक्षित तरिकाले रेखदेख गर्न दिइने गरेको ट्रमा अस्पताल प्रशासनले बतायो। तर, मृत्युपछि नेपाली सेनाले शव व्यवस्थापन गर्ने भएकाले सोहीअनुरुप आफन्तबाट अलग गर्ने गरिएको अस्पतालको भनाइ छ।
टेकु अस्पतालमा पनि संक्रमितको स्याहारमा आफन्त नै खटिरहेको देख्न सकिन्छ। बाहिर बरण्डामै उपचारत बिरामीका आफन्तले अक्सिजन ल्याउने, लगाइदिने गरिरहेको देख्न सकिन्छ। त्यहाँ पनि संक्रमितको मृत्युपछि आफन्तलाई बाहिर निकालिन्छ र शव सेनाको जिम्मा लगाइन्छ। धेरैजसो अस्पतालमा यस्तै स्थिति छ। संक्रमणको परवाह नगरी आफन्तजन बिरामीको स्याहारमा खटिन्छन्। तर, मृत्यु भएको खण्डमा अनुहारसमेत हेर्न नदिई निकालिन्छ।
टेकु अस्पतालका निर्देशक सागर राजभण्डारी भन्छन्, ‘संक्रमितको संख्या थेगिनसक्नु गरी बढेको छ। स्वास्थ्यकर्मीले भ्याउँदैनन्, अनि आफन्तले रेखदेख नगरे कसले गर्छ?’ आफन्तलाई यसरी रेखदेख गर्न दिँदा कोरोना सर्दैन त भन्ने प्रश्नमा उनी भन्छन्, ‘अधिकांश संक्रमित छन्। गाह्रो कम भएकाले गाह्रो भएकालाई रेखदेख गरिरहेका छन्। के गर्नु हामीले मात्रै भ्याएका छैनौं। यो हाम्रो बाध्यता हो।’
मृत्युपछि चाहिँ किन अनुहारसम्म हेर्न नदिइएको हो ? उनको जवाफ छ, ‘शव हेर्न दिँदा त्यसले थप समस्या निम्त्याउन सक्छ। त्यसैले रोकिएको हो।’
सरकारले कोरोना संक्रमणबाट ज्यान गुमाएकाहरुको शव व्यवस्थापनका लागि नेपाली सेनालाई जिम्मा दिएको छ। अस्पतालहरुले संक्रमितको मृत्युपछि शव छुट्टै राख्ने र सेनाको शव व्यवस्थापन टोलीलाई जिम्मा लगाउने गरेका छन्।