काठमाडौं– खेलको १५ औं मिनेटमा मेसुके ओलुमेउले, २२ औं मिनेटमा पनि मेसुकेले अनि ६० औं मिनेटमा स्टेफेन विनोङले गोल गरेपछि काठमाडौं नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा पुगेको छ।
हिजो(बुधबार) इलिमिनेटरबाट जित निकालेर २४ घण्टा नबित्दै दोस्रो क्वालिफायर खेलेको ललितपुरले निर्धारित ९० मिनेटमा कुनै गोल गर्न नसक्दा ऊ ३–० गोलले पराजित भयो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चार बराबरीपछि लगातार तीन जित निकालेको ललितपुरले आजको हारसँगै पहिलो चरणको एनएसएललाई बाईबाई गरेको हो।
पहिलो क्वालिफायरमा धनगढीसँग हार बेहोर्दै दोस्रो क्वालिफायर खेल्नुपरेको काठमाडौंले आजको खेलमा ललितपुरलाई हराउन धेरै कष्ट भने गर्नु परेन।
१३ औं मिनेटमा पेनाल्टी बक्सभित्र काडमाडौंका मेसुकेलाई कमल श्रेष्ठले फल गरेपछि रेफ्री प्रज्वल थापाको काठमाडौंलाई पेनाल्टी दिने निर्णयको ललितपुरका खेलाडीले विरोध गरे।
एक मिनेटको वादविवादपछि मेसुकेले प्रहार गरेको पेनाल्टी बल गोललाइनमा ड्रप भएर पोस्टको बायाँ कर्नरबाट भित्र छिर्दै गोलमा परिणत भयो। बललाई जज गर्न सफल गोलकिपर अर्पण कार्कीले बललाई नियन्त्रणमा लिन सकेनन्।
फलस्वरुप काठमाडौंले खेललाई सहज रुपमै नियन्त्रणमा लियो। एक दिनको रेस्ट पाएको काठमाडौंका मेसुकेले पिटर सेगुनलाई छक्याउँदै २२ औं मिनेटमा दोस्रो गोल गरे। यो गोलसँगै उनले लिगमा सर्वाधिक गोलकर्ताको शीर्षस्थानमा रहन सात गोल गरेका छन्।
उनले आठ खेलबाट ७ गोल गरेका हुन्। आज उनले दोस्रो गोल गर्दा ललितपुरका डिफेन्डर तयार नहुँदै र गोलकिपर कार्कीले पोजिसन बनाउँदै गर्दा उनले बललाई नेट चुमाएका थिए। बलले गोकिपर कार्कीलाई बायाँतर्फ छोड्दै गोललाइन भित्र छिरेको थियो। मेसुकेको यो गोलपछि बाँकि गोल बन्न नसक्दा पहिलो हाफमा काठमाडौंले दुई गोलको अग्रता बनाएको थियो।
दोस्रो हाफको ६० औं मिनेटमा फारसाइडबाट आएको बललाई नियन्त्रणमा लिएर विनोङले गोल गरेपछि काठमाडौंले तीन गोलको अग्रता बनायो। खेल अवधिभर ललितपुरका नौ प्रहारमध्ये कुनैले पनि पोस्टतर्फको दिशा लिन सकेन्।
यता काठमाडौंले ११ प्रहार गर्यो र चार प्रहार पोस्टमा गर्यो। त्यसमध्ये उसको एक प्रहार बाहेक सबै सफल भए। लिग चरणमा शीर्षस्थानमा रहेर प्ले अफमा पुगेको काठमाडौंका तेज तामाङ सुपर प्लेयर अफ दि म्याच बने। ‘कोचले जसरी भन्नु भएको थियो। त्यसरी नै खेल्न सक्यौँ। टिममा कम अनुभव भएका खेलाडी पनि भएकाले कहिँ चुक्यौँ पनि,’ तामाङले भने।
अब फाइनलमा काठमाडौंले धनगढीसँग प्रतिस्पर्धा गर्ने भएको छ। जारी लिगमा काठमाडौं र धनगढीको तेस्रो खेल हुनेछ। यसघिका दुवै खेलमा धनगढीले जित निकालेको छ।
लिग चरणमा भएको दोस्रो खेलमा धनगढीले काठमाडौंविरुद्ध ३–० गोलको जित निकोको थियो भने। पहिलो क्वलिफायरको खेलमा काठमाडौंले धनगढीसँग २–१ गोलको हार बेहोरेको थियो।