काठमाडौं – नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज दोस्रो क्वालिफायरको खेल हुँदैछ। त्रिपुरेश्वारस्थित दशरथ रंगशालामा साढे पाँच बजे सुरु हुने खेलमा फाइनल प्रवेशका लागि भ्याली डर्बी ललितपुर सिटी र काठमाडौं रेजर्स भिड्दैछन्।
प्रतियोगिताको उद्घाटन खेलमा ललितपुर सिटीले काठमाडौंसँग १–० गोलको हार बोहोरेको थियो। त्यसपछि लिग चरणमा ललितपुपरको प्रदर्शन उतारचढावपूर्ण रह्यो।
उसले लगातार चार खेलसम्म जित निकाल्न सकेन र अन्तिम दुई खेलमा जित निकाल्दै प्ले अफमा प्रवेश गर्यो। त्यसो त ललितपुरले हार बेहोरेको पनि काठमाडौंसँग मात्र थियो। बाँकि तीन खेल त बराबरीमै रोकिए।
यता काठमाडौंले लिगमा सर्वाधिक अंक बटुले पनि पहिलो क्वालिफायरको खेलमा धनगढीविरुद्ध २–१ गोलले पराजित भयो। आज काठमाडौंलाई पुनः एकपटक ललितपुरलाई हराउँने अर्को अवसर छ।
यदि उसले फेरि ललितपुरलाई हराउन सके एनएसएलको फाइनलमा प्रवेश गर्नेछ। त्यहि समयमा ललितपुर चाहिँ काठमाडौंसँग लिग चरणमा बेहोरेको हारको बदला लिने अवसरको खोजीमा हुनेछ।
प्रतियोगिताका अन्तिम चरणहरमा निकै बलिया बन्दै आएका टिम हुन ललितपुर र काठमाडौं। युवा खेलाडीले भरिएको दुवै टिमको बल पोसेसन, अट्याकिङ र डिफेन्स निकै राम्रो देखिँदै आएको छ।
त्यसैले आजको खेल निकै रोमाञ्चक हुनेछ। आजको खेलमा काठमाडौंका मेसुके ओलुमेउ र ललितपुरका अन्जन विष्ट केन्द्रमा रहनेछन्।
मेसुकेले प्रतियोगितामा ह्याट्रिक गरिसकेका छन् भने विष्टले पछिल्लो खेलमा लगातार गोल गरिरहेका छन्। जारी सिजनमा उत्कृष्ट प्रदर्शन गरेका काठमाडौंका किपर विकेश कुथूको आजको खेल पनि हेर्नलायक रहनेछ।