काठमाडौं – म्यानचेस्टर युनाइटेड प्रिमियर लिगअन्तर्गत मंगलबार रातिको खेलमा लेस्टर सिटीसँग पराजित भएको छ। युनाइटेडकै मैदानमा सम्पन्न खेलमा युनाइटेडले २–१ गोलको हार बेहोरेको हो।
लेस्टरका लागि एल थोमस र स्यान्चु काग्लरले समान १–१ गोल गरे भने युनाइटेडमा मेसन ग्रिनवुडले एक गोल फर्काए।
खेलको नवौं मिनेटमा टेलेमन्सको पासबाट गोल गर्दै थोमसले पाहुना टिम लेस्टरलाई अग्रता दिलाएका थिए। तर, ग्रिनवुडले १४ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याइहाले।
यससँगै पहिलो हाफमा दुवै टिमले बराबरी खेले तर ६६ औं मिनेटमा अलब्राइटोनले दिएको पासलाई स्यान्चुले हेडमार्फत् गोलमा बदलेपछि पाहुना टिमले अग्रता बनायो र २–१ गोलअन्तरका साथ खेल जित्यो।
यो जितसँगै तेस्रो स्थानको लेस्टरले दोस्रो स्थानको युनाइटेडसँग चार अंकको दूरी कायम गरेको छ। युनाइटेडको ७० अंक छ भने लेस्टरको ६६ अंक छ।
यता तीन खेल बाँकी रहेको लिगमा सिटीको भने ८० अंक छ।