काठमाडौं- आउँदो जुलाई र अगस्टमा पूर्वी एसियन राष्ट्र जापानमा ‘टोक्यो ओलम्पिक २०२०’ आयोजना हुँदैछ। तर, त्यो आयोजनालाई लिएर टोक्योवासी खुसी छैनन्।
एक अर्ब ४० करोड डलर लगानी भइसकेको ओलम्पिक रंशालाबाट सेबास्टियन कोइले पुनः एकपटक ११ हप्तामा सुरु हुने ओलम्पिक जापानीहरुका लागि सुरक्षित हुने आश्वासन दिएका छन्।
विश्व कोभिड १९ को महामारीले आक्रान्त बनिरहेको समयमा टोक्योका बासिन्दाले पटकपटक ओलम्पिकविरुद्ध प्रदर्शन गर्दै आएका छन्।
यस्तो अवस्थामा अन्तराष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) का सदस्य र दुई पटकका ओलम्पिक गोल्ड मेडलिस्ट कोइले गएको आइतबार मात्र ४२० खेलाडीसँग रंगशालाभित्र रहेको ट्र्याक र फिल्डको जाँच गरेका थिए। अब ओलम्पिककका दौरान विभिन्न देशबाट १५ हजार खेलाडी जापान पुग्नेछन्। सँगै दशौँ हजार अफिसियल, मिडियाकर्मी, निर्णायक, र ब्रोडकास्टरहरु जापान पुग्नेछन्।
गएको केही सयमदेखि सिल गरिएको बोर्डर जापान सरकारले उनीहरुका लागि भने खुल्ला गरिदिनु पर्नेछ। ‘मलाई थाहा छ अहिले आएका खेलाडीभन्दा प्रतियोगितामा आउने हजारौँ खेलाडी धेरै फरक छन्,’ कोइले भने, ‘जापानी जनता निकै सहानुभुतिशील छन्। एउटा सर्वेक्षणले पनि महामारीमा प्रतियोगिता गर्नु खतरा रहेको बताएको थियो।’ आइतबारको दिन भित्र खेल र जाँच भइरहे पनि रंगशालाको बाहिर भने केही फरक देखिएको थियो।
ओलम्पिकको विरोधमा मानिसहरु र्याली र नाराबाजी गरिरहेका थिए। उनीहरुले ‘ओलम्पिकले गरिबलाई बाँच्न दिँदैन्, यसलाई रोक’ लगायतका नारा लेखिएका प्लाकार्ड प्रदर्शन गरिरहेका थिए। र्यालीमा उपस्थित एक समर्थकले महामारीका कारण जापानमा कतिपय मानिसले खान नपाएको साथै घरबारविहीन भएर बस्नु परेको बताएका थिए। त्यस्तै, र्यालीमा आएकी मियुकी ओटोमोले ओलम्पिक सामान्य तरिकाबाट हुने भए आयोजकले पहिल्यै रद्ध गरिसकेको हुने दाबी गरेकी छन्।
अहिले जापानमा ओलम्पिकको घोर विराध भइरहेको छ। त्यस्तै ओलम्पिकविरुद्धको एक अनलाइनमा पनि तीन लाखभन्दा धेरै मानिसले हस्ताक्षर गरेका थिए। अहिलेसम्म जापानमा कोभिडको कारण ११ हजारभन्दा धेरैको निधन भइसकेको छ। यता सरकारले १५ अर्ब डलरभन्दा धेरै ओलम्पिक प्रतियोगिताको लागि लगानी गरिसकेको छ।