काठमाडौं - नेपाल सुपर लिग एनएसएल अन्तर्गत आज दिउँसो दुई खेल हुँदैछन्। आजका यी दुई खेलले प्ले अफमा पुग्ने बाँकी दुई टिमको टुंगो लगाउने छ।
यसकारण आज साढे २ बजे हुने विराटनगरविरुद्ध ललितपुर र धनगढीविरुद्ध बुटवलको खेललाई महत्त्वका साथ हेरिएको छ।
धनगढी यसअघि नै प्ले अफमा पुगिसकेकाले उसलाई आजको खेलले धेरै असर गर्ने छैन। तर, उसको नतिजाले बुटबल लुम्बिनी क्लबलाई भने असर गर्नेछ। यदि आजको खेलमा धनगढीले हार बेहोरेको अवस्थामा बुटवल लुम्बिनीलाई प्ले अफमा खेल्ने अवसर हुनेछ।
बुटबलको पाँच अंक छ। उसले जित निकालेमा आठ अंक बनाउने छ र समान आठ अंक भएको पोखरा थन्डर्सलाई हेड टू हेडका आधारमा पछि पर्दै प्ले अफमा पुग्ने छ।
त्यसैले उसका लागि आजको खेल फाइनल बराबरी हुनेछ। यता धनगढी प्ले अफमा पुगिसके पनि उसलाई शीर्ष वा दोस्रो स्थान प्राप्त गर्नुपर्ने संघर्ष छ।
त्यसकारण ऊ पनि आजको खेलमा जित निकाल्दै तालिकाको माथि पुग्ने महत्त्वकांक्षाका साथ मैदान उत्रने छ। आजको दोस्रो खेल धनगढी र बुटबलका लागि निर्णायक खेल हुनेछन्।
त्यस्तै, आजको पहिलो खेलमा विराटनगर र ललितपुर दुवैलाई गर वा मरको अवस्थामा हुनेछ। यो खेलमा जसले जित निकाल्छ त्यो प्ले अफमा पुग्ने छ। अहिले ललितपुरको ६ र विराटनगरको ७ अंक छ।
उनीहरूमध्ये जसले जित निकाले पनि तालिकाको तेस्रो स्थानमा रहने सम्भावना धेरै छ।
त्यस्तै भोलिको खेलमा काठमाडौं रेजर्स र चितवन भिड्दैछन्। यो खेलले प्ले अफमा जानका लागि असर गर्ने छैन। किनभने काठमाडौं प्ले अफमा पुगिसकेको छ भने चितवन बाहिरिसकेको छ।