काठमाडौं– अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले आईसीसी महिला विश्वकप २०२३ को छनोटका खेल आगामी नोभेम्बरमा गराउने भएको छ।
उसले विश्वकप छनोटका खेल तालिका सार्वजनिक गर्दै मलेसियामा नेपालसहित आठ टिम सम्मिलित प्रतियोगिता गराउने भएको हो। प्रतियोगितामा आयोजक मलेसियासहित नेपाल, भुटान, चीन, हङकङ, कुवेत, यूएई र म्यानमार रहनेछन्।
२०२३ मा दक्षिण अफ्रिकामा हुने विश्वकपका लागि नेपालले छनोट हुनका लागि मलेसियालमा हुने छनोट प्रतियोगितामा विजेता बन्नुपर्ने छ। मलेसियामा हुने छनोट विजेताले पाँच क्षेत्रबीच हुने प्रतियोगिता खेल्ने अवसर पाउनेछ। सो खेलबाट छानिएका दुई टोलीले विश्वकप खेल्ने अवसर पाउनेछ। नेपाली महिला टिमले गएको १३ औं दक्षिण एसियाली खेलकुदपछि अन्तराष्ट्रिय क्रिकेट खेल्न पाएको छैन।
पछिल्लो समयमा नेपाल क्रिकेट संघले आयोजना गरेको प्रतियोगिता पनि कोभिड १९ को महामारीका कारण स्थगित भएको छ। यसबीच राष्ट्रिय महिला टिम हेर्ने प्रशिक्षक पनि नियुक्त भएका थिएनन्।
तर अहिले प्रशिक्षक जगत टमाटा नियुक्त भएका छन्। सम्भवतः नेपालले उनकै नेतृत्वमा प्रतियोगिता खेल्नेछ। आईसीसीले यसअघि आउँदो सेम्टेम्बरको चौथो हप्ता गर्ने भनेको प्रतियोगिता महामारीका प्रभावका कारण नोभेम्बरमा सारेको हो।