एजेन्सी- अफ्रिकी देश मालीकी एक २५ वर्षीया महिलाले एकैसाथ ९ वटा बच्चाको जन्म दिएकी छन्।
हलिमा सिसेले मोरक्कोको एक अस्पतालमा ९ वटा बच्चा जन्माएकी हुन्। माली सरकारले उनको संरक्षण र हेरचाहका लागि मोरक्क पठाउने व्यवस्था गरेको थियो।
हलीमाका पतिले आफ्नी श्रीमती र बच्चाहरु सुरक्षित रहेको भन्दै बीबीसीसँग खुसी व्यक्त गरेका छन्।
सन् २००९ मा अमेरिकाकी एम महिलाले एकै पटक ८ वटा बच्चा जन्माएर विश्व रेकर्ड कायम गरेकी थिइन्। उनले गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाएकी थिइन्।
यसअघि सन् १९७१ मा अस्ट्रेलियाकी एक महिलाले एकै पटक ९ बच्चाको जन्म दिएकी थिइन् भने सन् १९९९ मा इन्डोनेसियामा पनि एक महिलाले ९ बच्चाको जन्म दिएकी थिइन्। तर ती बच्चाहरुको केही दिनमै मृत्यु भएको थियो।
वर्ल्ड रेकर्ड राख्ने नादया सुलेमानले एकै पटक ८ बच्चालाई जन्म दिएकी थिइन्। ती बच्चा अहिले १२ वर्षका भए। एकै पटक धेरै बच्चा जन्मिने कारण चाँहि प्रिग्नेन्सी विट्रो फर्टिलाइजेशन रहेको चिकित्सकहरुले बताएका छन्।
मालीकी सिसेले एकै पटक ९ बच्चा जन्माएपछि त्यहाँका स्वास्थ्यमन्त्री फेन्टा सीबीले माली र मोरक्कोको मेडिकल टिमलाई धन्यवाद दिएका छन्।
मोरक्कको को एक बोर्जा क्लिनिकमा हलिमाले बच्चा जन्माएकी हुन्।
यस क्लिनिकका डाइरेक्टर प्रोफेसर यूसूफ अलोईले यो निकै दुर्लभ र असाधारण घटना भएको बताएका छन्।
हलिमाको १० डाक्टर र २५ नर्सिङ स्टाफले डेलिभरी गराएका थिए।
बच्चाहरुको तौल ५०० ग्रामदेखि १ किलोसम्म रहेको छ। तीमध्ये २–३ वटा बच्चालाई इन्क्युबेटरमा राखिएको छ।
हलिमाको प्रिग्नेन्सी समयदेखि नै मालीमा यसको चर्चा भएको थियो। पश्चिम अफ्रिकी देश मालीका डाक्टर हलिमाको डेलिभरीका विषयमा चिन्तत थिए।
उनीहरुलाई ती महिलाको संरक्षण राम्रोसँग गर्न नसकिए आमा र बच्चाको ज्यानै जोखिममा पर्न सक्ने चिन्ता थियो।
यो चिन्ताका बीच माली सरकारले महिलालाई डेलिभरीका लागि मोरक्को पठाएको थियो।
३० मार्चमा मोरक्को पुगेकी हलिमाले त्यसको ५ हप्तापछि मंगलबार सी–सेक्सन अप्रेसनको माध्यमबाट बच्चा जन्माइन्।
हलिमाका श्रीमान अदजुदान्त कदेर अर्बी अहिले मालीमै आफ्नी ठूली छोरीको हेरचाह गरेर बसेका छन्।
उनले बीबीसीसँगको कुराकानीमा भनेका छन्, ‘भगवानले हामीलाई बच्चा दिएका छन्, अब के हुन्छ भगवानले नै तय गर्नेछन् म त खुसी छु, कुनै चिन्ता छैन।’
