काठमाडौं- मैतीदेवीस्थित सेतो पुलमुनि राति मंगलबार अबेरसम्म चहलपहल गर्दै थिए १० जना सडक बालबालिका। उनीहरूले पुललाई घर बनाएको एक वर्ष भएछ। सडकमाथि गाडी हुइँकिँदा पुल निकै थर्किन्थ्यो। तर उनीहरू अभ्यस्त भइसकेका छन् त्यहाँ बस्न।
उनीहरू पुरानो बानेश्वर जाने सडक हेर्दै कानेखुसी गर्छन्। केही छिनमा एक स्कुटी पुलमुन्तिर आउँछ। आफ्नो अभिभावक आउँदा सन्तान खुसीले रमाएझैं उनीहरू उफ्रिन्छन्। एउटा बालकको आवाज आउँछ– ‘दाइ आउनुभयो लामा बाजे।’ ती बालकले लामा बाजे भनेर उनीहरूसँगै बस्दै आएका देवबहादुर लामालाई सम्बोधन गरेका हुन्।
ती दाइ हुन् प्रदीप घिमिरे। उनलाई ती बालकहरू अमूल्य पनि भन्छन्। घिमिरे स्कुटीमा राखेको प्लास्टिकसहितको झोला बोकेर भुइँमा राख्छन्। बालकहरू लाम लाग्छन्। अन्य पाँच जना वृद्धा पनि पुलमुन्तिरबाट निस्किएर लाममा उभिन्छन्। घिमिरे प्लास्टिकका थैलाबाट खानाको पोका झिकेर ती बालकहरूको हातमा राख्न थाल्छन्।
रामेछाप मन्थली नगरपालिका ४ का प्रदीप घिमिरेले खाना बाँड्न थालेको १३ महिना भयो। २०७६ चैत २९ गतेदेखि प्रदीपले निरन्तर भात बाँडिरहेका छन्।
दोलखाका ६५ वर्षीय लामाका लागि यो राहतले ज्यान जोगाएको छ। भन्छन्, ‘१० महिनादेखि उहाँले दिएको खाना खाइरहेको छु। नत्र अस्ति नै मरिसक्थें।’
सुर्खेतका माने बादीले पनि प्रदीपले दिएको खाना खान थालेको ८ महिना भयो। उनी बालुवा बोक्थे। ठेकदारले घर बनाउने ठाउँमै पाल टाँगेर बस्ने व्यवस्था गरिदएका थिए। काम रोकिएपछि ठेकदार आउन छोडे। त्यसपछि उनी घरको न घाटको भएका छन्। बादी भन्छन्, ‘गाउँ जाऔं भने कोही घरमा कोही छैन। धन्न! उहाँले खाना खुवाउनुभएकाले पुलमुन्तिर बस्न सकिएको छ।’
यही लाममा भेटिए काभे्रेका ६० वर्षीय धर्म गुरुङ। मैतीदेवी आसपास भारी बोकेर दैनिक गुजरा गर्दै आएका छन् उनी। निषेध आदेश जारी भएपछि पुलमुन्तिर आउनुपरेको बताउँछन् गुरुङ। उनी भन्छन्, ‘कोरोनाले पुलमुन्तिर ल्याइपुर्यायो। भारी बोक्ने काम पनि गुम्यो।’
अघिल्लो लकडाउनमा उनी धोबीखोलाका किनार टिनको टहरामा बस्दै आएका थिए। लकडाउन लम्बिएपछि भाडा तिर्न नसकेपछि उनी टहरा छोड्न विवश भए। धर्म भन्छन्, ‘निषेध आदेशले निमुखालाई खान थाल्यो। धन्न! उहाँले भात खुवाउनु भा’छ।’
अर्का बालकले भने, ‘प्रदीप दाइ नआएको भए त भोकै सुत्नुपथ्र्यो। दाइ आउन ढिलो भयो भने मन आत्तिन्छ।’
यी सडक बालकका लागि भरोसा भएका छन् प्रदीप। खाना ल्याउन ढिलो भएमा प्रदीपको खोजी गर्छन् उनीहरू।
१३ महिनादेखि खाना खुवाउन व्यस्त प्रदीप फेसबुकमा कसैलाई जन्मदिनको शुभकामना दिँदा लेख्ने गर्छन्, ‘परोपकार पुण्यायः।’
चार वर्षभित्र चार सदस्य गुमाएका प्रदीपलाई सहयोगको भावना आएको आमाको निधनपछि हो। उनी भन्छन्, ‘तीनचार वर्षभित्र आमा, हजुरआमा, भाइ र हजुरबा गुमाएँ। बुवाले कान्छीआमा ल्याएपछि थप एक्लो भएँ। त्यही एक्लोपन हटाउन पनि सहयोगका लागि अघि बढ्छु।’
बत्तीसपुतलीमा बस्दै आएका ३२ वर्षीय प्रदीप महामारीका कारण गत वर्ष लकडाउन भएदेखि नै गरिब मजदुर र भोकाको सहारा बनिरहेका छन्। उनी भन्छन्, ‘२०७७ चैत १६ गतेदेखि ड्राइफुड र २९ गतेदेखि सडक बालबालिका र दीनदुःखीलाई भात खुवाउँदै आएको छु।’
१३ महिना अवधिमा उनको टिमले १ लाखभन्दा बढी मजदुर, एकल महिना, गर्भवती, दृष्टिविहीन, सडक बालबालिका, अनाथ बालबालिकालाई खाना खुवाउँदै आइरहेका छन्। पहिले आफ्नै बलबुँताले खाना खुवाउँदै आएका घिमिरेलाई पछिपछि सहयोगी हात जुटे। उनी भन्छन्, ‘सबैको साथ र सहयोगले आजसम्म खाना खुवाउन पाएको छु।’
२०७६ चैत १६ गते गोकर्णबाट उनलाई फोन आएको थियो। त्यहाँका अनाथ बालबालिकाका लागि उनले ८ बोरा चामलका साथ अत्यावश्यक सामग्री लिएर पुगेका थिए। त्यसपछि उनले चैत २२ गते शान्तिनगर गेटभित्र २ गरिब आमालाई सहयोग गरे। २५ गते भक्तपुरको सूर्यविनायकमा गलैंचा बुन्दै जीविकोपार्जन गर्ने १५ घरपरिवारलाई चामल दाल, नुन, आलु बाँडे।
त्यही गते साँझ भृकुटीमण्डपका अपांगले प्रदीपलाई फोन गरे। उनीहरूको पीडाले प्रदीप भावुक बने। उनले चामल दाल, आलु नुनतेल पुर्याए। ‘त्यहाँको अवस्था देखेर सरकार भन्ने जिनिस छ झैं लाग्थेन।’
ती दिन सम्झिँदै उनी भन्छन्, ‘दुई दिनदेखि भोकभोकै थिए ती अपांग। उनीहरू सडकमा गीत गाउँदै हिँड्ने दृष्टिविहीन थिए। भोकले आक्रान्त भएका पीडित बाक्लै भेटिन थालेपछि घिमिरेको टोलीले व्यक्ति, संस्था तथा स्थानीय तहलाई राहत संकलनका लागि अनुरोध गर्यो। बिस्तारै राहत संकलन पनि भयो।
२६ गते साँझ उनलाई क्षेत्रपाटीबाट फोन आयो। डुलेर गलैंचा बेच्ने जुम्ला, हम्ला र कालिकोटका मजदुर थिए। तिनीहरूले सबैलाई चारचार दिनको रासनको जोहो गरेर घिमिरेको टोली फर्कियो। घिमिरेको टोली बिस्तारै राहत बाँड्ने एक नम्बर टोलीका रुपमा चिनियो।
२८ गते स्वयम्भू आसपास माग्दै हिँड्ने आमाहरूको बिजोग देखेर राहत बाँड्न पुगे। यो खबर बिस्तारै पुलिस प्रशासनसम्म पुग्यो। घिमिरेको टोलीले बाँडेको राहतको प्रशंसा पहिलोपटक महानगरीय प्रहरी प्रमुख उत्तमराज सुवेदीले गरे।
उनी भन्छन्, ‘राहत कसरी र कस्ता पीडितलाइ दिने भन्ने विषयमा छलफल गर्न महानगर प्रहरी प्रमुख सुवेदीको फोन आयो।’ राहत मात्रै बाँडेर हुँदैन, खाना खुवाउन सके अझ उत्तम हुने कुरा घिमिरेले राखे। त्यसमा सबै सहमत भए।
चैत २९ गतेको साँझ १०८ जनालाई खानाको पोको लिएर उनको टोली वसन्तपुर पुग्यो। दुई दिनपछि उनीहरूले असन, इन्द्रचोक, भेडासिंहलगायत ठाउँमा खानाको पोका बाँडे। बिस्तारै खानाको संख्या बढाएसँगै उनीहरूको टोलीले खाना लिएर बांगेमुडा, डल्लु, ढल्कु, क्षेत्रपाटी, डल्लुको पुल। टंकेश्वर, थापाथली, टेकु, राममन्दिर, मैतीदेवी, पशुपति र गुह्श्विेरीसम्म पुग्यो। ६ महिना यी स्थानमा खाना बाँड्यो घिमिरेको टोलीले।
पर्याप्त साधनस्रोत नभए पनि मैत सेतोपुल, पुरानो बानेश्वर, गौशाला, भन्डारखाल, चाबहिल, बौद्ध जोरपाटी लगायत क्षेत्रमा खाना बाँड्दै आइरहेका छन् उनीहरू।
इन्द्रचोक वरिपरि सडकपेटीमा सुत्नेहरूलाई सेतो स्लिपिङब्याक, म्याट, जाडोमा ज्याकेट पन्जा पनि वितरण गरे। खाना खुवाउँदै गर्दा बिमारी परेकालाई उपचार पनि गरे। उपचार पाएका मध्ये एक हुन्, बारा निजगढका ६० वर्षीय सोमबहादुर लामा।
बजार खुल्न थालेपछि सहयोगी हात घट्न थाल्यो। राहतका प्याकेज कम भएपछि खाना दिने ठाउँहरू कम भयो। घिमिरे भन्छन्, ‘अहिले हामी ६० जनालाई हरेक साँझ आठ बजे खाना लिएर सेतोपुलदेखि पशुपतिसम्म पुग्छौं।’
कोरोना कहर बढेसँगै फेरि दोहोरिएको निषेध आदेशले उनलाई विचलित बनाएको छ। फेरि मजदुरहरू सडकमा आएका छन्। उनी भन्छन्, ‘धेरैको रोजीरोटी खोसिएको छ सरकार छ जस्तो भाछैन।’
हुनेखानेलाई खाद्यान पसल खुले पनि गरिखानेका लागि भने खाद्यान पसल खुलेको कुनै अर्थ नरहेको उनी बताउँछन्। घिमिरे भन्छन्, ‘चार अर्ब खर्च गरेर धरहरा बनाउनुको साटो अस्पताल बनाउनु पथ्र्यो। भेन्टिलेटर ल्याउनुपथ्र्यो । सरकारले गरेको लापर्बाहीको परिणाम पहुँच नहुने जनताले भोग्नुपरेको छ।’
नेपाल ट्रेड युनियनले श्रम मन्त्रालयमा बुझाएको एक अध्ययन प्रतिवेदनमा महामारीका कारण गत वर्ष ६ लाख श्रमिक सडकमा पुगेको उल्लखे छ। प्रदीप भन्छन्, ‘यसपालि पनि त्यति नै जनता सडकमा भात लिन नपुग्लान् भन्न सकिन्न।’