काठमाडाैं - बूढो शरीर। बाक्लो पट्टिले बाँधेको हात। र, तन्नामा पोको पारेका कपडा। सिन्धुलीको दुधौली नगरपालिकाका जगिधर चौधरी सडकमा लुखुरलुखुर हिँड्दै थिए।
काठमाडौंको कोटेश्वर चोकमा भेटिएका उनी साहूले कामबाट निकालेपछि घर जान हिँडेका रहेछन्। पेट र गोजी रित्तो बोकेर घर फर्किन खोेजेका उनले दुई दिनदेखि काठमाडौंमा भाैंतारिएको सुनाए।
उनले भने, ‘बूढो शरीर, घाइते हात बोकेर हिँड्दै घर जाने आँट आएन। अब भोकै मर्नुभन्दा हिँड्दै जानु बेस लाग्यो। मरे बाटोमै मरौँला, नत्र घर पुगौँला।’
थोरै भए पनि पैसा कमाउँला भनेर २० दिनअघि काठमाडौं आएका चौधरीले पैसा कमाउन त परको कुरा झन्डै हातै गुमाएनन्।
गाउँमा खेतीको सिजन नभएकाले असार नलाग्दासम्म पैसा कमाउन भनेर उनी नयाँ वर्षसँगै काठमाडौं आएका रहेछन्। काठमाडौं आएको दुई दिनपछि उनले बाजालुस्थित एक माछापोखरीमा काम गर्न थाले। साहूको नामसमेत थाहा नभएका उनले महिनाको साढे १० हजार रूपैयाँ पाउने गरी काम गर्न थालेका रहेछन्।
माछालाई चारो हाल्ने र पोखरीको रेखदेख गर्नु उनको जिम्मेवारी थियो। काम १० दिनसम्म राम्रै चल्यो। तर, काम गर्ने क्रममा उनको हात बाँसले गहिरो गरी काट्यो। अत्यधिक रगत बगेपछि वीर अस्पताल भर्ना भए।
‘उपचार हुँदै थियो, लकडाउन सुरु भयो। त्यसपछि साहुले त्यहीँबाट घर जाऊ भन्यो। अब कहाँ जाउँ ? त्यसैले घर हिँडेको,’ उनले सुनाए।
चौधरीको शरीर हेर्दा थर–थर काँपेको छ। हात काटिएर अस्पताल बसेकाले निकै कमजोर देखिएका छन्। तर, पनि केही उपाय नलागेपछि हिँडेरै घर जान कस्सिएका छन् उनी। भन्छन्, ‘४-५ दिन लाग्छ होला। बाटोमा कसैले एक छाक खान र बास दियो भने त पुग्छु होला आफ्नै घर।’
जिन्दगीमा साह्रै दुःख पाएको उनले बताए। ‘हात काटिनु, साहुले कामबाट निकाल्नु र लकडाउन हुनु एकैपल्ट भयो,’ उनले भने, ‘यस्तो बेलामा घरसम्म पुग्न कसैले सहयोग गर्दैन रहेछ। सरकारले हामी जस्तालाई हेरिदिए धन्य हुने थियौँ।’
बागलुङ ढोरपाटन नगरपालिकाकी सीता परियार पनि लकडाउनसँगै काम बन्द भएपछि घर फर्किन खोजिरहेकी छन्। आठ वर्षकी छोरी च्यापेर कलंकी चोकमा दुई दिनदेखि बसेकी उनले घर जाने कुनै उपाय नलागेको सुनाइन्।
भक्तपुरको मैरम इँटा कारखानामा श्रीमानसहित सीताका परिवारका पाँचैजना (दुई छोरी, एक छोरा, श्रीमान र आफू) काम गर्दै आएका थिए। तर, लकडाउनको निर्णय भएसँगै कारखानाका साहूले ज्याला दिएर उनीहरूलाई घर जान भनेका रहेछन्।
घर जान पाँचैजना निस्किएकोमा श्रीमान, एक छोरी र एक छोरा पर्यटक बोक्ने गाडीमा गए। उनी र आठ वर्षीया छोरी भने यहीँ छुटे। ‘छोरीले दिसा लाग्यो भनी र ट्वाइलेट लिएर गएको थिएँ। फर्किँदा गाडी हुइँक्याइहाल्यो। हामी यतै अलपत्रमा पर्यौं,’ उनले सुनाइन्।
कारखानाले दिएको सबै पैसा श्रीमानसँग भएको भन्दै उनले एउटा बिस्कुट खाने पैसा पनि नभएको बताइन्। ‘दुई दिनदेखि आमाछोरी भोकै छौँ,’ आँखाभरि आँसु पार्दै सीता भनिन्।
आफूसँग फोन पनि नभएको बताउँदै उनले घर जान प्रहरीसँग हारगुहार गरिरहेको बताइन्। गाडी नपाए के गर्नुहुन्छ ? भन्ने प्रश्नमा उनले भनिन्, ‘के गर्नु यहीँ सडकमा सुत्छु। बाँकी अरू के छ र उपाय ?’
कलंकीमै हेटौँडाका विराज मगर तीन वर्षको छोरो च्यापेर घर जानका लागि गाडी कुर्दै थिए। घर बनाउने ठाउँमा लेबरका रुपमा काम गर्दै आएका मगर लकडाउनसँगै काम बन्द भएपछि घर फर्किन हिँडेका रहेछन्।
‘कहिलेसम्म लकडाउन हुन्छ थाहा छैन। काम नभएपछि घरभाडासमेत तिर्न गाह्रो हुन्छ। अनि कसरी बस्नु यहाँ,’ उनले दुखेसो पोखे।
यी त केही प्रतिनिधि पात्र मात्रै हुन्। निषेध आदेशसँगै यसैगरी रोजगारी गुमाएर घर फर्किन खोज्नेको संख्या सयौं छ। कोही हिँड्दै भए पनि घर जान थालेका छन् भने कोही चोकचोकमा गाडी कुरिरहेका छन्।
प्रहरीको सहयोगमा खाद्यान्न, तरकारी बोकेका गाडीमा घर फर्किन पाइन्छ कि भनेर आश गर्नेहरू पनि सडकमा प्रशस्त देखिन्छन्।कोरोनाको डरसँगै काठमाडौंमा खान बस्नै नसक्ने त्रासले छोपेपछि घर फर्किन लागेको उनीहरूको भनाइ छ।