काठमाडौं– १७ वर्षअघि नेपालमा एक अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी थपिए। १७ वर्षे ती युवा खेलाडीले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सिनियर टिमबाट पहिलो क्याप जिते।
२००४ अप्रिल ३ को दिन अन्तर महादेशीय कप हुँदै गर्दा उनले अन्तर्राष्ट्रिय खेलमा पहिलो पटक सिनियर टिमबाट प्रतिनिधित्व गर्दै थिए। तिनै खेलाडी चार वर्षपछि राष्ट्रिय टिमको कप्तानी सम्हाल्न पुगे।
एसोसिएट राष्ट्रहरुमध्ये सबैभन्दा लामो समय कप्तानी सम्हालेका उनले अन्ततः २०१९ मा कप्तानी छोडे। र, आज अगस्त ३ का दिन उनले संन्यास घोषणा गरे।
तिनै खेलाडी त हुन्, सर्वाधिक सफल नेपाली क्रिकेटर पारस खड्का। संयोग यो मिलेको छ, नेपालले पहिलो एकदिवसीय खेलमा नेदरल्यान्डविरुद्ध प्राप्त गरेको सफलताको दिनमा खड्काले अन्तर्राष्ट्रिय करियरबाट विदा लिने निर्णय लिए। सामाजिक सञ्जालमार्फत खड्काले नेपालका लागि क्रिकेट खेल्नु मेरो जीवनको सर्वश्रेष्ठ उपलब्धि भएको भन्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट बिट मारेका हुन्।
डेढ दशकभन्दा लामो समय क्रिकेटसँग साइनो गाँसेका नेपाली क्रिकेटर पारस खड्काले मंगलबार सामाजिक सञ्जालमा अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदा लिने घोषणा गरे। उनको कप्तानीको समयमा नेपाली क्रिकेटले धेरै सफलताका पाइला भेटाउँदै जाँदा २०१४ मा पहिलो पटक ट्वान्टी–२० विश्वकप पनि खेल्ने मौका पायो।
त्यो समय खड्काले नै नेपाली टोलीको कप्तानी सम्हालेका थिए। २०१८ मा जिम्बाब्वेमा भएको विश्वकप छनोटबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता नेपालले पाएको थियो। त्यो समय पनि उनकै नेतृत्वमा नेपाली टोलीलाई एक दिवसीयको मान्यता हात लागेको थियो। उनै सफल कप्तानलाई मंगलबार अन्तर्राष्ट्रिय खेल करियरबाट विदा मागेका हुन्।
नेपाली क्रिकेटको सर्वोच्च निकाय नेपाल क्रिकेट संघ (क्यान) अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसिसि) बाट निलम्बन हुँदा अन्तर्राष्ट्रिय समन्वयको जिम्मेवारी बहन गर्दै नेपाली क्रिकेटलाई अगाडि बढाएका थिए।
सन् २००४ मा राष्ट्रिय टोलीमा डेब्यू गरेका अलराउन्डर पारसले सन २००९ मा नेपाली टोली सम्हाल्ने जिम्मा पाएका थिए। उनले विनोद दासको कप्तानको आर्मब्यान्ड पहिरिएका थिए। उमेर समूहका खेलबाट राष्ट्रिय टोली सम्म स्थान बनाएका खड्काले बंगलादेशमा २००४ मा भएको आईसिसि यु–१९ विश्वकप क्रिकेटसमेत खेलेका थिए।
सोही वर्ष मलेसियाविरुद्धको खेलमा आईसिसि इन्टरकन्टिनेन्टल कपबाट राष्ट्रिय टोलीमा डेब्यू गरेका खड्का झन्डै १० वर्ष नेपाली राष्ट्रिय टोलीको कप्तानी सम्हालेर २०७६ असोज २८ गते कप्तानबाट राजीनामा दिएका थिए। त्यसपछि नेपाली टोलीलाई ज्ञानेन्द्र मल्लले सम्हाल्दै आएका छन्।
विश्व वरियतामा नेपाल अहिले १२ औं स्थानमा छ। नेपालले एक दिवसीय मान्यता पाएको छ। नेपाली क्रिकेटलाई अहिलेको अवस्थामा ल्याउनका लागि कप्तानको जिम्मेवारी सम्हालेका खड्का सर्वाधिक सफल खेलाडी पनि हुन्। किनभने एक दिवसीय र टी–२० अन्तर्राष्ट्रिय दुबैमा नेपालका लागि शतक प्रहार गर्ने पहिलो खेलाडी हुन्।
२०१९ मा यूएईविरुद्धको खेलमा पारसले करियरको पहिलो एकदिवसीय शतक प्रहार गरेका थिए। सोही वर्ष सिंगापुरविरुद्ध टी–२० आन्तर्राष्ट्रियमा शतक प्रहार गर्दै पहिलो खेलाडी बनेका थिए। पारसले नेपाली टोलीबाट १० वटा अन्तर्राष्ट्रिय एकदिवसीय खेल खेलेका छन्।
खड्काले १० खेलबाट ३ सय १५ रन जोडेका छन। अर्को फर्म्याट टी–२० अन्तर्राष्ट्रियमा ७ सय ९९ र ट्वान्टी–२० मा ५६ खेल खेल्दा १ हजार ३ सय ७७ रन बनाएका छन्।