नयाँदिल्ली- कोरोना संक्रमितको मृत्यु बढेसँगै भारतको राजधानी दिल्लीमा अन्त्येष्टि स्थलको संख्या थप गर्न थालिएको छ। अन्तिम संस्कार गर्ने स्थानको अभाव भएपछि पार्क, सवारी पार्किङ स्थल र खाली जमिनमा अन्तेष्टिस्थल बनाउन थालिएको हो।
यी स्थानमा अन्त्येष्टिस्थल बनाउनका लागि खटिएका मजदुरहरूले पनि दिनरात काम गररहेका छन्। उता अन्तिम संस्कार गर्ने स्थानका कर्मचारीहरू पनि दिनरात काममा खटिएका छन्। उनीहरूलाई मृतकका आफन्तले पनि सघाइरहेको भन्दै बीबीसीले उल्लेख गरेको छ। अन्तिम संस्कार गर्ने स्थानको अभाव भएपछि मृतकका आफन्त घण्टौँ लाइन बस्नु परेको छ।
पूर्वी दिल्लीको गजीपुरस्थित एक अन्त्येष्टि स्थलमा २० शवको अन्तिम संस्कार गर्न मिल्ने गरी नयाँ संरचना थप गरिएको छ। अन्तिम संस्कारको पालो पाउनका लागि कम्तीमा पनि ३-४ घण्टा लाइन बस्नुपर्ने भएकाले अन्तिम संस्कार स्थलको क्षमता वृद्धि गर्नुपर्ने अवस्था रहेको भारतीय एक अधिकारीलाई उद्धृत गर्दै इन्डियन एक्सप्रेसले समाचार प्रकाशन गरेको छ।
कोरोना भाइरसको दोस्रो लहर सुरु भएपछि दिल्लीमा संक्रमित मृतकको संख्या बढेको छ। सोमबार दिल्लीमा मात्रै ३८० जना संक्रमितको मृत्यु भएको थियो।
संक्रमितको संख्या बढेपछि भारतमा अक्सिजन, सघन उपचार कक्ष र औषधिको अभाव छ। भारतमा दैनिक ३ लाखभन्दा बढी संक्रमित भएको पुष्टि हुन थालेको छ। भारतमा हालसम्म १ लाख ९२ हजार कोरोना संक्रमितको मृत्यु भइसकेको छ भने १ करोड ७० लाखभन्दा बढी संक्रमित भएको पुष्टि भएको छ।
भारतीय सञ्चारमाध्यम एनडीटीभीले गत साता मात्रै कम्तीमा १ हजार १५० जना कोरोना संक्रमित मृतकको तथ्यांक सरकारको आधिकारिक तथ्यांकमा समावेश नभएको उल्लेख गरेको थियो। अन्य अध्ययनहरूले पनि भारतमा कोरोना संक्रमित मृतकको संख्या सरकारी तथ्यांकभन्दा बढी भएको देखाएको छ।