न्युयोर्क- संयुक्त राज्य अमेरिकाले ६ करोड डोज कोरोना खोप अन्य देशहरूमा पठाउने तयारी गरेको बीबसीले जनाएको छ।
अमेरिकामा भ्याक्सिनको उपलब्धता पर्याप्त रहेकाले तत्काल आवश्यक भएका देशमा आस्ट्राजेनेका भ्याक्सिन पठाउने तयारी गरिएको ह्वाइट हाउसले जानकारी दिएको हो। हाल भ्याक्सिनको सुरक्षा परीक्षण भइरहेकाले आगामी महिनाबाट भ्याक्सन निर्यात गर्न थालिने ह्वाइट हाउसले जानकारी दिएको छ।
विभिन्न देशमा भ्याक्सिनको ठूलो मात्रा आवश्यक भइरहेका बेला अमेरिकाले भने भण्डारण गरिराखेको भन्दै विश्लेषकहरूले आलोचना गर्दै आएका थिए।
गत महिना मात्र राष्ट्रपति जो बाइडेनले ४० लाख डोज आस्ट्राजेनेका भ्याक्सिन मेक्सिको र क्यानडा पठाइने बताएका थिए। भारतमा पनि दिनहुँ कोरोना महामारी बढ्दै गएको र भ्याक्सिन अभाव देखिएपछि भ्याक्सिन अभियानमा सहकार्य गर्न अमेरिकामाथि दबाब सिर्जना भएको थियो।
सोमबार ह्वाइटहाउसले तत्काल करिब १ करोड डोज आस्ट्राजेनेका भ्याक्सिन विदेशमा पठाउने तयारी भइरहेको र अमेरिकी स्वास्थ्य नियामक एफडिएले सुरक्षा परीक्षण गरिरहेको बताएको थियो।
'भ्याक्सिन विदेश पठाउनुअघि एफडिएका अधिकारीहरूले सुरक्षा जाँच गर्दैछन्,' ह्वाइटहाउस प्रवक्ता जेन साकीले सोमबारको पत्रकार सम्मेलनमा भने। विदेश पठाउने प्रयोजनकै लागि थप ५ करोड डोज उत्पादनको प्रक्रियामा रहेको ह्वाइट हाउसको भनाइ छ।