काठमाडौं- नरेन्द्र मोदी सरकारले नेपालविरुद्ध लगाएको नाकाबन्दी गलत भएको भारतीय नेताहरूले बताएका छन् ।
कार्लमार्क्सको द्विशतवार्षिकीका अवसरमा काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय सेमिनारमा भाग लिन आएका भातीय कम्युनिस्ट पार्टीका नेताहरूले यस्तो बताएका हुन् । उनीहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल नीतिप्रति सतर्क रहन नेपाल सरकार र कम्युनिस्ट पार्टीका नेताहरूलाई सुझाव पनि दिए ।
'प्रधानमन्त्री मोदीले आफैंले नाकाबन्दी लगाएर पछि घाउमा मल्हम लगाएजस्तो अभिनय गरे,' भाकपा (माक्र्सवादी)का पोलिटब्युरो सदस्य जोगिन्दर शर्माले बिहीबार निष्कर्ष मन्तव्यमा भने । मोदीले अहिले नेपालप्रति सहानुभुति देखाएर सकारात्मक हुन खोजेको उनको भनाइ थियो ।
नेपालमा हिन्दुत्व स्थापित गर्ने योजना सफल पार्ने एजेन्डा बोकेर मोदी भ्रमणमा आएको शर्माले जिकिर गरे । 'तपाईंहरू मोदीजीको एजेन्डाप्रति प्रष्ट र सचेत हुनूस्,' उनले भने ।
भारतीय जनता पार्टीले राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)मार्फत् नेपालमा हिन्दुत्वको एजेन्डा अगाडि बढाउन सक्ने उनको भनाइ थियो ।
कार्यक्रममा भाकपा (माले)की पोलिटब्युरो सदस्य कविता कृष्णसहित ६ जना विदेशी कम्युनिस्ट नेताले धारणा राखेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४